तपाईँ सुन्दै हुनुहुन्छः

हेमजा-अस्ताम-धम्पुस-मर्दिहिमाल पदमार्गको शिलान्यास

पोखरा । कास्कीको हेमजा-अस्ताम-धम्पुस हुदै मर्दिहिमाल जाने पदमार्गको शिलान्यास गरिएको छ । शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उक्त पदमार्गको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास गर्दै मन्त्री लम्सालले पर्यटनको आकर्षण मध्येको पदमार्ग एक रहेको चर्चा गर्नुभयो । प्रकृति, साहसिक र हिमाल प्रेमीहरूलाई पदमार्ग आकर्षक गन्तव्य बन्दै गएको बताउनुभयो ।

विभिन्न कारणले मासिँदै गएका तथा धम्पुस हुदै मर्दिहिमाल तर्फ जान सहज पदमार्ग नभएका कारणले यो पदमार्ग आन्तरिक र बाह्य पदयात्रीको लागि उपयुक्त हुने बताउनुभयो ।

मन्त्री लम्सालले पदमार्ग निर्माणमा सिमेन्ट, बालुवा प्रयोग गरी पक्की बनाउने तर्फ भन्दा ढुंगाले बनेको नेचुरल खालको आकर्षक बनाउनेतर्फ ध्यान दिन निर्माण उपझोक्ता समितिलाई आग्रह गर्नुभयो । मन्त्री लम्सालले पदमार्ग निर्माणको लागि प्रदेश सरकारले यथेष्ट बजेटको व्यवस्था मिलाउने विश्वास दिलाउनुभयो ।

पदमार्ग निर्माणको लागि यस आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले १० लाख रकम विनियोजन गरेको छ । यस पदमार्ग बाट अग्ला—अग्ला हिमश्रृंखला, नदी, ताल, डाँडाकाडाँको मनोरम दृश्य नियाल्न सकिन्छ ।

गण्डकी प्रदेश सभा सदस्य रामजी प्रसाद बरालले हेमजा-अस्ताम-धम्पुस-मर्दिहिमाल पदमार्ग अत्यान्तै महत्वपूर्ण पदमार्ग रहेकाले यसको निर्माण कार्य सम्पन्न गर्न आफ्नो तर्फबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशका नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालले पदमार्गलार्ई देशकै नमुना पदमार्गको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

शिलान्यास कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका उपप्रमुख कृष्ण कुमारी दवाडी, पोखरा महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष शोभाखर तिमिल्सीना, अधिवक्ता रामचन्द्र त्रिपाठी, टानका प्रथम उपाध्यक्ष धर्मराज पन्थी, निर्माण समितिका अध्यक्ष विश्वराज अधिकारी लगाएतले विगतदेखि चर्चामा आएता पनि काम हुन नसकेको उक्त पदमार्गको निर्माण कार्यको थालनी गर्दा उत्साह थपिएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button