आज देशभर २१ सय ११ जना सङ्क्रमण मुक्त, १३ सय ४३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं । कोरोना सङ्क्रमणबाट आज देशभर दुई हजार एक सय ११ जना निको भएका छन् ।
योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या दुई लाख २० हजार दुई सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तथ्याङ्क अनुसार हालसम्म कोरोना सङ्क्रमणबाट निको हुनेको दर ९२ दशमलव ७ प्रतिशत रहेको छ ।
यस्तै आज थप एक हजार तीन सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा नौ हजार दुई सय ८९ वटा पिसिआर परीक्षण गर्दा आठ सय नौ पुरुष र पाँच सय ३४ महिलामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडाँै उपत्यकामा तीन सय ११ जना पुरुष र दुई सय ५० जना महिला गरी पाँच सय ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमण हुनेको संख्या दुई लाख ३७ हजार पाँच सय ८९ पुगेको छ ।
आज देशभर कोरोना भाइरसका सक्रिय सङ्क्रमित १५ हजार सात सय ६६ जना रहेका छन् । जसमध्ये १० हजार दुई सय ७१ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी पाँच हजार चार सय ९५ जना विभिन्न संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै गम्भिर लक्षण देखिएका तीन सय ८८ जना आइसीयु र ६५ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमणका कारण आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको कूल संख्या एक हजार पाँच सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्