कलाकारको कृषि फर्म : केरा खेतीबाट वार्षिक डेढ लाख कमाई

स्याङ्जा । साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको गल्याङ–९ पकवादी गेझाका कुसुम भण्डारीको ३ रोपनी बारी अहिले केरा घारीमा परिणत भएको छ ।
खुमन अधिकारी र विष्णु माझीले गाएको निकै चर्चित लोक गीत कपाल कोर्ने काइँयोलगायतका धेरै गीतहरूमा शब्द भर्नुभएका भण्डारीका आफ्नै स्वर तथा अभिनय रहेका गीतहरू प्रशस्तै छन् ।
७ वर्षसम्म काठमाडौँमै बसेर साङ्गीतिक क्षेत्रमा भुल्नुभएका भण्डारी अहिले भने आफ्नै गाउँलाई कृषिका माध्यमबाट माथि उकास्ने प्रयासमा हुनुहुन्छ । उहाँको घर नजिकै रहेको ३ रोपनी बारीमा ढाई सय बोट केरा र कागतीका बिरुवाहरू छन् ।
केराबाट आर्थिक लाभ लिइरहनुभएका भण्डारीको बारीका कान्लाहरूमा र्हुकँदै गरेका कागतीका बोटहरू देखिन्छन् । विगत दुई वर्षदेखि भण्डारीले केरा खेती गर्दै आउनुभएको हो ।
केरालाई सिँचाई चाहिने भए पनि उहाँले भने त्यो व्यवस्था गर्नुभएको छैन । उत्तरतिर फर्केको जग्गामा उपयुक्त हुनुभएपछि उहाँले रिपियान पाखामा केरा लगाउनुभएको छ ।
संसारमा रहेका ६४ कृषि मध्ये कृषि कला पहिलो हो भन्ने ज्ञान सङ्गीत सिक्ने क्रममा आफ्ना गुरुले भनेका कुराले उहाँलाई कृषिमा लाग्न अभिप्रेरित गरेको थियो ।
कृषिमा पनि नगदे बालीमा छिटो आम्दानी लिन सकिने भएकाले फलफूलप्रति आफ्नो आकर्षण बढेको उहाँले बताउनुभयो ।

अव केराखेतिलाई नै व्यावसायिक बनाउने उहाँको सोच छ । केरा खेतीलाई विस्तार गर्दै ५ रोपनीमा पुर्याउने र ५ सय केराका बोटहरू हुने उहाँको भनाई छ । प्रति बोट हजार रुपैयाँका दरले उहाँले वार्षिक डेढ लाख कमाई गरेको बताउनुभयो । कृषि बिनाको सङ्गीत अधुरो हुने भन्दै उहाँले कृषिसँगै सङ्गीतलाई समेत अगाडि बढाउनुभएको छ ।
गत कार्तिकमा उहाँले दसैँ गीत समेत सार्वजनिक गर्नुभएको थियो । गीतले युट्युबमा राम्रै दर्शक समेत पाएको छ । गेझामै सुटिङ गरिएको गीतमा धार्मिक मौलिकता देखाउन खोजिएको छ । उहाँले कलाकार कृषि तथा पशुपन्छी फर्म नै दर्ता गरेर आफ्नो कृषि पेशालाई अगाडि बढाउनुभएको हो ।
गेझामा केराखेतिको राम्रो सम्भावना रहेकाले केराखेतिले नै गेझाबासीलाई माथि उकास्ने उहाँको अनुभव छ ।
जिल्लामै रेकडिङ स्टुडियो भएमा स्याङ्जाली कलाकारलाई आफ्नै गाउँ ठाउँमा बसेर सङ्गीतलाई अगाडि बढाउन सकिने भण्डारीले बताउनुभयो । सङ्गीतसँगै उहाँले कृषिलाई नै आफ्नो उद्देश्य बनाउनुभएको छ । केरासँगै उहाँले साथी भाइसँग सहकार्य गर्दै गाउँमै गाई फर्म स्थापनाका लागि अगाडि बढ्नुभएको छ ।
सामूहिक रुपमा ३० लाख लगानी गरेर गाई फाम बनाउने उद्देश्यका साथ गाईका लागि गोठ समेत निर्माण भइसकेको उहाँले बताउनुभयो । आफ्नै जन्मथलोलाई कर्मथलोका रुपमा विकास गर्न सकियो भने समग्र गाउँ ठाउँकै लागि प्रेरणा बन्ने देखिन्छ । युवाहरूलाई कृषिमै आकर्षित गर्न सम्बन्धित निकायले समेत चासो दिनुपर्नेछ ।








प्रतिक्रिया राख्नुहोस्