कञ्चनरुप नगरपालिकाद्वारा २४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान

सप्तरी । २९औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आज सप्तरीको कञ्चनरुप नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरेको छ ।
सामाजिक विकास, महिला तथा बालबालिका शाखाद्वारा कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दिगो विकासको लागि हामी सबैको प्रतिबद्धता भन्ने नाराकासाथ आयोजित २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसमा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै नगर उपप्रमुख निरु पोखरेलले चाहेर कोही मानिस अपाङ्गता नहुने भएकाले अपाङ्गता भएका बालबालिकाहरुलाई सबैले माया र सम्मान गर्नुपर्ने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि नगरपालिकाले दिगो विकास र पहुँचमा बृद्धि गर्नका लागि कार्य योजना बनाएर काम गर्ने पोखरेलले बताउनुभयो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडका, नगर प्रवक्ता एवम् वडा नम्बर ८ का वडा अध्यक्ष राजकुमार साह , सल्लाहकार खिलनाथ पोखरेल, प्रेस सल्लाहकार उत्तम आचार्य लगायतका वक्ताहरुले अपाङ्गता भएका व्यक्तिहरु अधिकारलाई सुनिश्चित गर्न नगरपालिकाले कार्य योजना बनाएर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सामाजिक विकास तथा महिला बालबालिका शाखाकी महिला विकास अधिकृत सुशिला चौधरीले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिँर्द विश्व स्वास्थ्य संस्थाको प्रतिवेदन अनुसार विश्वको कुल जनसंख्याको आधारमा १५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु रहेको र नेपालको २०६८ सालको जनगणना अनुसार ५ लाख १३ हजार ३ सय २१ अपाङ्गता भएका व्यक्तिहरु रहेको जसमा महिला २ लाख ३३ हजार २ सय ३५ र पुरुष २ लाख ८० हजार ८४ जना रहेका छन् ।

सप्तरीमा ८ हजार ४४ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको , जसमा महिला ४ हजार ६ सय १, पुरुष ३ हजार ४ सय ४३ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको बताउनुभयो ।
वडाको सिफारिसमा प्रत्येक वडाबाट २ जना अपाङ्गता भएका व्यक्तिहरु छनोट गरी वडा नम्बर १ देखि १२ वटै वड बाट जम्मा २४ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरिएको चौधरीले बताउनुभयो ।
स्थानीय अपाङ्गता समन्वय समितिको संयोजक एवं उपप्रमुख निरु पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्