तपाईँ सुन्दै हुनुहुन्छः

ऐन कानुनहरू अपाङ्गतामैत्री बनाइने   

No description available.

काठमाडौँ ।  सरकारले अपाङ्गता भएका व्यक्तिहरूको सहज जीवनयापनका लागि १० वर्षे नयाँ कार्य योजना ल्याउने तयारी गरेको  छ ।

अपाङ्गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले  आज काठमाडौँमा आयोजना गरेको  भर्चुअल शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री लीलानाथ  श्रेष्ठले  सरकारले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गरिरहेको जानकारी दिनुहुँदै  अपाङ्गता भएका व्यक्तिहरूको  सार्वजनिक सेवामा सहज पहुँचका लागि मन्त्रालयले निर्देशन दिइसकेको पनि जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि १० वर्षे नयाँ कार्य योजनाले सिपमूलक तालिम र सहज जीवन यापनमा सहयोग पुग्ने बताउनुहुँदै मन्त्री श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूको सन्दर्भमा  ऐन कानुनमा भएका त्रुटिहरू पनि सच्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव यामकुमारी खतिवडाले अपाङ्गता भएका व्यक्तिहरूले प्रयोग गर्ने सहायक सामाग्री उत्पादनमा स्थाीयकरण गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष मित्रलाल शर्माले संशोधन हुन लागेको राष्ट्रिय शिक्षा ऐनलाई अपाङ्गतामैत्री बनाउनुपर्ने माग गर्नुहुँदै  हाल बन्दै गरेका सम्पूर्ण कानुनहरू अपाङ्गमैत्री बनाइनुपर्नेमा जोड दिनुभयो ।

सन् १९९२ देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर ३ तारिखका दिन संसारभरि नै अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइने गरिएको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button