तपाईँ सुन्दै हुनुहुन्छः

दुई समूहबिच प्रहरी चौकीमा झडप, एक जना घाइते

बैतडी । बैतडीको एक प्रहरी चौकीमा बुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।

स्थानीय युवाहरुको दुई समूहबिच प्रहरी चौकीमा झडप हुँदा पञ्चेश्वरका ३० बर्षीय लोकेन्द्र चन्द घाइते भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घाइतेको बैतडीमा उपचार हुन नसक्दा धनगढीमा रहेका माया मेट्रो अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ । घाइते चन्दको टाउको घाँटी, ढाडमा चोट लागेको छ ।

गणमेश्वर मन्दिरमा लागेको मेलामा महिलालाई जिस्कायाएको निहुँमा दुई समूहबिच झडप भएपछि छलफलमा लागि प्रहरी चौकीमा बोलाएका बेला पुनः चौकीमै झडप भएको बताइएको छ ।

प्रहरी चौकीमा झडप गर्नेमध्ये सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताउनुभयो ।

अघिल्लो दिन मेलामा झडप गरेका दुई समूहलाई छलफलका लागि चौकीमा बोलाएका बेला चौकीमै झडप भएको उहाँले बताउनुभयो । अहिले झडपमा संलग्नलाई सोधपुछका लागि जिल्ला बोलाएको डिएसपी अधिकारीले बताउनुभयो ।

घटनाको बिषयमा अनुसन्धान भइरहेको र दोषीमाथि कानुन अनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक अधिकारीको भनाई छ ।

झडपका क्रममा प्रहरी चौकीमा पनि तोडफोड भएको र सामान्य क्षति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button