धार्मिक, सांस्कृतिक महत्त्वलाई संरक्षण गर्दै पशुपतिलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

काठमाडौँ । पशुपति क्षेत्रलाई धार्मिक, सांस्कृतिक एवं पर्यटनको नमूना क्षेत्रका रुपमा विकास गर्ने लक्ष्यका साथ पशुपति क्षेत्र विकास कोषले काम निरन्तर अगाडि बढाइरहेको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको उक्त आयोजनाको आर्थिक वर्ष २०७८÷७९ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा रहेको पशुपति क्षेत्रको बृहत्तर विकासका लागि सरकारले यसलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर अगाडि बढाएको छ ।
धार्मिक एवं पुरातात्विक महत्व बोकेको पशुपति क्षेत्रमा आधुनिकताको रङ्गभन्दा पनि पुरातात्विक, आध्यात्मिक र सामाजिक मान्यतालाई जस्ताको तस्तै राखेर निर्माण गर्ने योजना कोषको रहेको छ । त्यसका लागि राष्ट्रिय गौरवको आयोजनाको अवधारण र मापदण्ड भित्र रहेर संरचना निर्माणलाई निरन्तरता दिइएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
पशुपति मन्दिर क्षेत्रको मुल मन्दिरभित्रको नियमित पुजा, विशेष पुजा, घाटसेवा क्षेत्र, क्रियापुत्री भवनलगायतका अत्यावश्यक सेवाहरु प्रभावित नहुने गरी आयोजनको काम निरन्तर चलिरहेको छ ।
पशुपति क्षेत्रमा ठुला जात्रा एवं पर्वका अवसरमा मन्दिर दर्शनका लागि आउने भक्तजनहरुको भिड थाम्न नसक्ने अवस्थालाई ध्यान दिँदै फराकिलो र सुविधासम्पन्न बनाउन विभिन्न कामहरु भइरहेका छन् ।
नेपालको पर्यटकीय क्षेत्रको मुख्य आधारहरुमध्येको एक आध्यात्मिक पर्यटन पनि भएकोले १ सय वर्षसम्मका लागि परिकल्पना गरिएको बृहततर गुरुयोजनालाई पुर्णता दिने गरी काम अगाडि बढेको कोषका कार्यकारी निर्देशक डा. खतिवडाले जानकारी दिनुभयो ।
आध्यात्मिक पर्यटनलाई पशुपति क्षेत्रले र त्यहाँ आउने पर्यटकको संख्याले परिभाषित गर्ने भएकाले यस क्षेत्रलाई थप फराकिलो र अझबढी सुविधासम्पन्न बनाउनुपर्ने दायित्व रहेकाले कोषले त्यसैअनुरुप काम गरिरहेकोे कोषले जनाएको छ ।
पशुपति क्षेत्रकोे जग्गा सम्बन्धी स्थानीयहरुमा विमति रहेकाले यसका लागि पर्यटन मन्त्रालयले कमिटी गठन गरी पुनरावलोकन गरिरहेको छ ।
स्थानीयको जायज मागलाई सम्बोधन हुने गरी गुरुयोजना तयार गरी मन्त्रिपरिषद्मा पेश गरिसकिएको र गुरुयोजना पास भएर आएपछि बाँकी कामलाई अगाडि बढाउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपति क्षेत्रलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेर त्यस क्षेत्रभित्र रहेका जग्गाहरुको भु–उपयोगितालाई संरक्षण गर्दै अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने गरि काम समेत भइरहेको छ ।
पशुपति क्षेत्रको विकासका लागि तयार गरिएको गुरुयोजनाले आवश्यक पुर्वाधार निर्माण गरि आयोजना सम्पन्न गर्नका लागि ३२ अर्व रुपैयाँ लाग्ने अनुमान गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्