तपाईँ सुन्दै हुनुहुन्छः

उमाकुण्डमा १० शैय्याको अस्पताल भवन शिलान्यास

रामेछाप जिल्लाको उत्तरी भेगमा रहेको उमाकुण्ड गाउँपालिकाको बाम्ती भन्डारमा १० शैय्याको अस्पताल भवनको शिलान्यास भएको छ। उमाकुन्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले एक कार्यक्रमको बिच आज भवनको शिलान्यास गर्नु भएको हो।
भवनको शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै अध्यक्ष सुनुवारले अस्पताल भवन मात्र नभई आवश्यक सामग्री र जनशक्तिको समेत सरकारको तर्फबाट पूर्ण व्यवस्थापन हुने र अस्पताल स्तरोन्नति गर्नको लागि ध्यान केन्द्रित गर्ने जानकारी दिनु भयो । उहाँले फरक प्रसङ्गमा भन्नू भयो आफूहरूको कार्यकाल भरिमा जनताले गुनासो राख्ने ठाउँ नराख्ने गरी काम गर्नेछौ।
नेपाल सरकारको आर्थिक बर्ष ०७७/०७८ को नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार देशभरिको ३९६ स्थानीय तहमा यो वर्ष अस्पताल निर्माण कार्य अगाडि बढेको छ।
उमाकुण्ड गाउँपालिकामा निर्माण हुने १० शय्याको अस्पतालको कुल लागत १० करोड ८३ लाख ३६ हजार मध्य यस वर्षको लागि ८५ लाख विनियोजन भएको छ, भने यो भवन २ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको छ। शिलान्यास कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष उर्मिला कार्की (बस्नेत), प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद सुवेदी, ३ नं वडा अध्यक्ष रमेश कुमार सुनुवार, गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुख दीपेन्द्र कुमार पैकरा र सरोकारवाला अन्य व्यक्तिहरूले समेत शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। गाउँपालिकाको केन्द्र रहेको प्रीतिमा केही समय अगाडि नै ५ शय्याको अस्पताल सञ्चालनमा आइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button