तपाईँ सुन्दै हुनुहुन्छः

थप १७ सय ३ जना सङ्क्रमित थपिए, मृतकको सङ्ख्या १४ सय ३५ पुग्यो

काठमाडौँ । कोरोना भाइरसबाट आज थप एक हजार ७ सय ३ जना सङ्क्रमित भएका छन् ।

आज १० हजार ४ सय ६० वटा नमुनाको रियल टाइम पिसिआर परीक्षण गर्दा १ हजार ७ जना पुरुष तथा ६ सय ९६ जना महिला गरी जम्मा १ हजार ७ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका सङ्क्रमित मध्ये काठमाडौँ उपत्यकाका मात्रै ४ सय ४३ जना पुरुष र ३ सय ७९ जना महिला गरी जम्मा ८ सय २२ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट २ लाख २९ हजार ३ सय ४३ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

यसै गरी आज थप १ हजार २ सय ३६ जना सङ्क्रमण मुक्त भएसँगै कोरोना मुक्त हुनेको कूल सङ्ख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।

आज सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमण मुक्त हुने दर ९१ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसका कारण आज थप २३ जनाको मृत्यु भएपछि मृतकको कूल सङ्ख्या १ हजार ४ सय ३५ पुगेको छ ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज देशभर गरी १७ हजार २ सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सक्रिय संक्रमित मध्ये १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा रहेका छन् भने बाँकी ६ हजार २ सय ९३ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसन सेन्टरहरूमा रहेका छन् ।

यसै गरी आज ३ सय ५४ जनाको आइसियु र ५४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button