तपाईँ सुन्दै हुनुहुन्छः

बाराको झिटकैयामा सरुवा रोग अस्पताल निर्माण हुँदै

ध्रुव अधिकारी, वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले कलैया उपमहानगरपालिकाको वडा नम्बर १६ पर्ने झिटकैयामा प्रदेशको पहिलो सरुवा रोग नियन्त्रण अस्पताल स्थापना गर्न लागिएको बताउनुभएको छ ।

संघीय तथा प्रदेश नम्बर दुई सरकारबाट बाराको झिटकैयामा प्रदेशिक गौरवको आयोजना अन्तरगत ५० बेडको सरुवा रोग नियन्त्रण अस्पताल स्थापना गरिने मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।

मुख्यमन्त्री लालबाबु राउत, प्रतिनिधि सभाका सांसदहरु, प्रदेश २ का प्रदेश सभा सदस्यहरु, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव, विभिन्न राजनीतिक दलका प्रतिनिधि सहितको टोलीले आज अस्पतालको निर्माण स्थलको स्थलगत निरिक्षण गरेको थियो ।

त्यसैगरी मुख्यमन्त्री सहितको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका स्थित पथलैयामा रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेन्टर अस्पताल निर्माणका लागि स्थलगत अवलोकन गरेको छ ।

प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार प्रस्तुत बजेटमा अस्पतालका लागि दुई करोड रुपैयाँ विनियोजन गरिसकेको र संघीय सरकारको सहयोगमा अस्पताल निर्माण गरिने मुख्यमन्त्री राउतले बताउनु भयो ।

राजमार्गमा हुने दुर्घटनामा सामान्य घाईतेले पनि समयमै उपचार नपाएर धेरैको ज्यान जाने गरेको तथ्यको आधारमा राष्ट्रिय राजमार्गसँगै जोडिएको पथलैयाको स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेन्टर अस्पताल बनाएर प्रयोगमा ल्याउने प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्री राउतले बताउनु भयो ।

बाराको झिटकैयामा ५० बेडको सरुवा रोग नियन्त्रण अस्पताल तथा पथलैयामा निर्माण गर्न लागिएको ट्रमा सेन्टरको मंसिर १५ गते एक साथ निर्माण शुरु गरिने समेत मुख्यमन्त्री राउतले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button