हिंसामा परेर ज्यान गुमाएकाहरू प्रति समवेदना प्रकट गर्दै मैनबत्ती प्रज्वलन

सप्तरी । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सप्तरीको राजविराजस्थित गजेन्द्र चोकमा महिला–पुरुषहरु हात–हातमा मैनबत्ती लिएर लहरै उभिएका छन् । एउटा मैनबत्ती बल्छ, एकले अर्कोको मैनबत्ती सल्काउँछन् । गजेन्द्र चोकको वरिपरि बलेको मैनबत्ती सबैले चारैतिर राख्छन् । क्षणभरमै चोक उज्यालो हुन्छ ।
मैनबत्तीले चोक उज्यालो भए झै सबैको घरमा समानताको उज्यालो फैलियोस् र सामाजिक न्यायका बारे जनचेतना जागोस् भनेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको दोस्रो दिन सप्तरीका अधिकारकर्मीहरूले बिहीबार साँझ दीप प्रज्वलन गर्नुभएको हो ।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न कार्यक्रम गरी यो अभियान मनाउने गरिन्छ । विश्वमा सन् १९९१ देखि सुरु भएको यो अभियान नेपालमा २०५४ सालदेखि सुरु भएको हो ।

मूल समारोह समितिका अध्यक्ष इन्सेक प्रतिनिधि मनोहर पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले हिंसामा परेर ज्यान गुमाएकाहरू प्रति समवेदना प्रकट गर्दै मैनबत्तीले चोक उज्यालो पारे झै सबैको मन उज्यालो होस् भनेर कामना गर्नुभयो ।
कार्यक्रममा भिएसओको सुनिल साह, एकल महिला समूहकी अध्यक्ष अनिता देवकोटा, प्रादेशिक कानुनी सहायता समितिकी कानुनी सहायता अधिकृत किरण साहले लैङ्गिक हिंसा विरुद्ध एकताबद्ध भएर काम गर्न झकझक्याउनकै लागि १६ दिने अभियान विशेष रुपमा मनाइएको बताउनु भयो ।
लैङ्गिक हिंसाको जड नै समाज भएकाले समाज परिवर्तनका लागि यस्ता कार्यक्रम वर्षैभरी आवश्यक भएको पनि उहाँहरूले बताउनु भयो ।
“लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’’ भन्ने नारा सहित मानव अधिकारका लागि एकल महिला समूह सप्तरीको संयोजनमा भएको कार्यक्रममा एक दर्जन बढी सङ्घ–संस्थाहरूको सहभागिता रहेको छ ।
सहभागीहरूले घरदेखि कार्य क्षेत्रसम्म महिला हिंसा वा लैंगिकतामा आधारित हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । मूल समारोह समितिले जिल्लाभरी १६ दिनसम्म विभिन्न कार्यक्रम गरी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन थालेको संयोजक पोखरेलले जानकारी दिनुभयो ।

समितिमा इन्सेक, एकल महिला समूह, महिला अधिकार रक्षक सञ्जाल, सामुदायिक सेवा केन्द्र, जिल्ला बार इकाई, समग्र जनउत्थान केन्द्र, राजविराज जेसीज, मैथिल महिला परिषद्, प्रादेशिक कानुनी सहायता समिति, जिल्ला कानुनी सहायता समिति, हुर्क नेपाल, यूथ सप्तरी, बाल क्लब, सञ्चार यात्रा, दहेज मुक्त मिथिला, नागरिक समाज, ज्येष्ठ नागरिक सङ्घ रहेकाछन् ।
१६ दिने कार्यक्रमअन्तर्गत पीडितहरूलाई सहयोग, हौसला प्रदान, कानुनी शिक्षा, र्याली, अन्तरक्रिया, संवाद, बालविवाह विरुद्ध अन्तरपुस्ता संवाद, वक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता, फलफूल वितरण, सरसफाइ, स्थानीय एफ.एम.बाट १६ दिनसम्म चेतनामूलक सन्देश प्रसारणलगायतका कार्यक्रम तय भएको छ ।








प्रतिक्रिया राख्नुहोस्