बर्दिबासमा तेस्रो दिन पनि प्रदर्शन जारी

बर्दिबास । स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच ४ बुँदे सहमति भए पनि बर्दिबासमा तेस्रो दिन पनि प्रदर्शन जारी रहेको छ ।
आज बिहानदेखि बजार र राजमार्ग खुले पनि बिहान ११ बजेदेखि स्थानीयले प्रहरी प्रशासन विरुद्धको प्रदर्शन जारी राखेका छन् ।

बर्दिबासकी–६ वर्षीया बालिका गुलाबशा खातुनको बलात्कारपछि हत्या र प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जय न्यौपानेको दोषीमाथि कारबाहीको माग स्थानीय आक्रोशितहरूले इलाका प्रहरी कार्यालय बर्दिबास घेराउ समेत गरेका छन् ।

‘बलात्कारीलाई फाँसी दे, हाम्रो आन्दोलन जारी छ, छोरीलाई सुरक्षा गर, छोरी मार्न पाइँदैन’ लगायतका नारा लगाउँदै सरकार तथा स्थानीय प्रशासनविरुद्ध प्रदर्शन जारी राखिएको छ ।
‘हामीलाई न्याय चाहियो, ढूंगामुढा गर्दैनौँ, गोली ठोक्न पाइँदैन’ नारा लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।

बुधवार साँझ स्थानीय प्रशासन र सर्वपक्षीय वार्ता समितिबीच चार बुँदे सहमति भएको थियो । दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्ने, सञ्जय न्यौपानेलाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने सहमति भएको थियो ।
उक्त चार बुँदे सहमति कार्यान्वयन गर्न गृह मन्त्रालयमा दुवै पक्ष जाने छलफल भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्