खाद्य कम्पनीको सुपथ मूल्य पसल माघ २ सम्म
सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंतिहारजस्ता चाडपर्वलाई लक्षित गरी खोलेको सुपथ मूल्य पसल माघ २ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
सरकारले पहिलोपटक माघे संक्रान्तिलाई समेत लक्षित गरि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वमा सञ्चालित खाद्यले असोज १५ गतेबाट सञ्चालन गरेको सुपथ मूल्य पसलको अवधि मङ्सिर ६ सम्म थियो ।
माघे संक्रान्ति पर्व र कोरोना महामारीको विषम परिस्थितिलाई दृष्टिगत गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्ने समयसीमा लम्ब्याइएको कम्पनीले बताएको छ ।
खाद्य कम्पनीले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित देशभरका २९ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तिनलाई माघ २ गतेसम्म निरन्तरता दिन लागेको कम्पनीका विक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाले जानकारी दिनु भयो ।
उहाँका अनुसार खाद्यका हकमा सुपथ मूल्य पसललाई निरन्तरता दिने निर्णय भइसकेको छ । खाद्यले दशैंतिहारदेखि छठसम्मको अवधिमा २० हजार क्वीन्टल खाद्यान्न बेच्ने लक्ष्य लिएको भएपनि कोरोना महामारीको प्रभावका कारण लक्ष्यअनुसार खाद्यान्न बेच्न नसकेको बताएको छ ।
यस अवधिमा खाद्यले करीब १० हजार क्वीन्टल खाद्यान्न मात्र विक्री गर्न सकेको छ । गत वर्षको यही अवधिमा खाद्यले १८ हजार क्वीन्टल खाद्यान्न विक्री गरेको थियो । सुपथ मूल्य पसलमा चामलमा ५ रुपैयाँ र कर्णालीको सिमीमा १० रुपैयाँ छुट दिएर विक्री वितरण भईरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्