सप्तरीको तीन वटा स्थानीय तहमा १५/१५ शैय्याको अस्पताल बन्ने
सप्तरी । सरकारले ३९४ स्थानिय तहमा आधारभूत अस्पताल बनाउने प्रक्रिया अगाडि बढाएसँगै सप्तरीमा पनि तीन स्थानिय तहमा १५/१५ शैय्याका अस्पताल बन्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णायअनुसार जिल्लाको कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका तथा सुरुगां नगरपालिका स्थित एक/एक स्वास्थ्य संस्थाको स्तरोन्नत्तिसहित अस्पताल निर्माण हुने भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तीनवटै स्थानीय तहहरुलाई कार्तिक २८ गते गरेको पत्राचार बमोजिम कञ्चनरुप नगरपालिका अन्तर्गत पर्ने कंचनपुर प्राथमिक स्वास्थ्य केन्द्र, तिरहुत गाउँपालिकाको लोहजारा स्वास्थ्य चौकी तथा सुरुङ्गा नगरपालिका स्थित कडरबोना प्राथमिक स्वास्थ्य केन्द्रलाई १५/१५ शैय्याको अस्पतालका रुपमा स्तरोन्नत्ति गर्ने जनाईएको छ ।
सप्तरीका तीनवटै स्थानीय तहमा निर्माण हुने अस्पतालका लागि चालु आर्थिक वर्षमा समान ३ करोड २३ लाख ३ हजारका दरले बजेट विनियोजित गरिएको छ ।
अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा कूल लागतको १७ दशमलव ९ प्रतिशत बजेट समेत तीनवटै स्थानीय तहहरुलाई विनियोजित गरिसकेको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको पत्रमा उल्लेख गरेको छ ।
मन्त्रालयका सह–सचिव बसन्त अधिकारीद्वारा हस्ताक्षरित पत्रमा मंसिर १५ गते जिल्लाका तीनवटै स्थानीय तहहरुमा अस्पताल निर्माणको शिलान्यास एकै साथ गरिने मन्त्रीस्तरीय निर्णायबारे समेत स्थानीय तहहरुलाई जानकारी गराईएको छ ।






प्रतिक्रिया राख्नुहोस्