तपाईँ सुन्दै हुनुहुन्छः

बन्दिपुरमा पर्यटनको आकर्षण बढ्दै

तनहुँ/बन्दिपुर । कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेको तनहुँको बन्दिपुरमा पर्यटकीय चहलपहल सुरु हुन थालेको छ । सरकारले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर पर्यटकीय गतिविधि सञ्चालन गर्न अनुमति दिएसँगै बन्दिपुरमा पर्यटकहरु पुग्न थालेका हुन् ।

आन्तरिक पर्यटकहरु पुग्न थालेसँगै यहाँका पर्यटन र होटल व्यवसाय गर्नेहरुले आफुहरुको निराशा र समस्याहरु समाधान हुने विस्वास गरेका छन् ।

‘सात महिना होटलको ढोका बन्द गरेर बस्नुप¥यो’ तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाईका सभापति तथा बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष बैस गुरुङले भन्नुभयो, “होटल व्यवसायीहरुमा आशा पलाउन थालेको छ ।”

अध्यक्ष गुरुङ्गले पर्यटकीय चहल पहल हुने समयमा विगत झै पर्यटकहरु नआए पनि बन्दिपुर पुग्ने पर्यटकहरु विस्तारै बढ्न थालेको जानकारी दिनुभयो । उहाँले दिनभर घुमेर होटलमा खाजा, खाना खाने जिल्लाका र बास बस्ने गरि अन्य जिल्लाका आन्तरिक पर्यटकहरु आउने गरेको जनाउनुभयो ।

बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्र होटल तथा रेष्टुरेण्टहरु सञ्चालन गर्ने अनुमति दिएको बताउनु भयो । उहाँका अनुसार यहाँका होटलहरुका कोठा एक दिन विराएर प्रयोगमा ल्याइएको छ भने ग्राहकहरुलाई अनिवार्य सावुन पानी वा सेनिटाजरको प्रयोग र सामाजिक दुरी कायम गर्नु नियम बनाइएको छ । प्रधानले ग्रामिण क्षेत्रमा रहेको पर्यटकीय स्थलमा महामारी फैलनसक्ने सम्भावनालाई न्यूनिकरण गर्न पहल भएकाले जोखिम कम रहेको जानकारी दिनुभयो ।

गत असोजदेखि खुल्ला गरिएको होटल, रेष्टुरेष्ट तथा पर्यटकीय गतिविधिले व्यवसायमा गति प्रदान गरेको टुडीखेल स्थित हेरिटेज गेष्ट हाउस एण्ड रेष्टुरेण्टकी संगिता प्रधानले बताउनुभयो । प्रधानले बन्दिपुरका सवैजसो होटलमा पर्यटकहरु बास बस्न थालेको जानकारी दिनुभयो । ‘कत्ति पनि अनआउनु भन्दा अलिअलि भए पनि व्यापार भएको छ पर्यटनको सिजन शुरु भएकोले अब बढ्ने अपेक्षा छ अब बन्द भएन भने विस्थापित हुनुपर्दैन ।’ सङ्गीताले भन्नुभयो ।

कोरोना माहामारीका कारण व्यवसाय बन्द भएता पनि बैकको किस्ता र ब्याज तिर्नुपर्दा व्यवसायीहरु मारमा परेको बन्दिपुर भिलेज इनका विकास श्रेष्ठले गुनासो गर्नुभयो । उहाँले ब्यवसायबाट पलायन हुनुपर्ने अवस्था टर्ने विस्वास लिनुभएको छ ।

पर्यटकलाई आकर्षण गर्नका लागि यहाँका होटल व्यवसायीहरुले छुटको व्यवस्था समेत गरेका छन् । बन्दिपुर होटल प्यालेसका सञ्चालक विजयकुमार कार्कीले आन्तरिक पर्यटक प्रवद्र्धन गरि व्यवसाय टिकाउन १० देखि ५० प्रतिशतसम्म छुट दिने गरेको जानकारी दिनुभयो । उहाँले होटल सञ्चालकहरुले पारिवारिक रुपमा घुम्न आउनेहरुलाई सहुलियत पूर्ण अफरहरु घोषणा गरेको बताउनुभयो ।

दैनिक करीव २०० सम्म आन्तरिक पर्यटक बन्दीपुर पुग्ने गरेको पर्यटन विकास समितिले जनाएको छ । समितिका अनुसार बन्दीपुर साना र ठुला गरी ८० वटा होटल तथा रेष्टुरेन्ट रहेका छन् । हाल करीव ३५ प्रतिशत आन्तरिक पर्यटक बन्दिपुर पुगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button