तपाईँ सुन्दै हुनुहुन्छः

चुनावी प्रतिबद्धता पुरा हुँदै छन् : मन्त्री अर्याल

 

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले चुनावी प्रतिवद्धताहरुलाई बिस्तारै पुरा गर्दै गइरहेको बताउनुभएको छ ।

मन्त्री अर्यालले शनिबार स्याङ्जाको काली गण्डकी गाउँपालिका–२ मा सृजनशील बहुउद्देश्यीय क्लबको भवन शिलान्यास गर्नुहुँदै भन्नुभयो, ‘हामीले चुनावी प्रतिवद्धताहरुलाई क्रमशः पुरा गर्दैछौँ ।

केहीको उपलब्धि आइसकेको छ भने केही आयोजनाहरू बन्दै गरेको अवस्थामा छन् ।’ जनताहरूको आड भरोसाले आँफु अहिले मन्त्री पदमा रहेको भन्दै उहाँले जनतालाई निराश बनाउने काम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘जनमुखी कामको अभियानमा सरकार छ । जनताको आसालाई कहिल्यै निराशा बन्न दिँदैनौँ ।’

सिपसहितको शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै उहाँले सिप विकासले मात्रै बेरोजगारको अन्त्य हुन सक्ने बताउनुभयो । सरकार सिपसहितको शिक्षाको अभियानमा रहेको भन्दै उहाँले भन्नुभयो, ‘युवालाई स्वरोजगार बनाउन सिपयुक्त शिक्षाको आवश्यकता पर्दछ, विदेश पलायनबाट रोक्न पनि हातमा सिप नै चाहिन्छ । सिप सिकेर आफ्नै भूमिमा सुन फलाउन हामीले युवाहरूलाई अभिप्रेरित गछौँ ।’

काली गण्डकीमा समेत विकासको गति अगाडि बढेको भन्दै उहाँले सडक चौडादेखि ग्राभेल गर्ने काम समेत आफ्नै पहलमा भएको बताउनुभयो । मिर्मिदेखि रुद्र बेनीसम्मको सडक कालोपत्रे गरेर पर्यटकीय मार्ग बनाउने मन्त्री अर्यालको भनाई छ ।

उहाँले भन्नुभयो, ‘स्याङ्जामा पर्यटकीय सम्भावनाहरूको लागि आवश्यक विकासको पूर्वाधार मध्ये पहिलो सडक पनि हो । पर्यटकीय सडकहरू निर्माण गर्ने, अन्य भौतिक संरचना निर्माण गरेर पर्यटकलाई आकर्षण गर्नेछौँ ।’ साथै मन्त्री अर्यालले काल गण्डकी–२ स्थित नवनिर्मित शिव पार्वतीको मन्दिर निरीक्षण गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button