तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्माणाधीन क्रिकेट रंगशालाका लागि बजेटको अभाव हुँदैन’

रुपन्देही । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले रुपन्देहीको सैनामैनामा निर्माणधीन क्रिकेट रंगशालाका लागि बजेटको अभाव हुन नदिने बताउनुभएको छ ।

नगरको वडा नं.७ स्थित लम्टैयामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शुक्रबार अवलोकन गर्दै सदस्य सचिव सिलवालले केन्द्रिकृत योजना अन्तर्गत सरकारले सातवटै प्रदेशमा प्रादेशिक रंगशाला निर्माण गर्ने योजनाअनुसार बन्न लागेकोले रंगशालालाई बजेटको अभाव नहुने बताउनुभयो ।

उहाँले रंगशालाको अन्तिम डिपिआर छिट्टै नै तयार गरिने बताउँदै पहिलो चरणमा यस वर्ष नै खेल्नयोग्य मैदान गराउनुपर्नेमा जोड दिनुभयो ।

अन्तराष्ट्रिय खेल खेल्न एउटा मात्र मैदानले नपुग्ने बताउँदै सैनामैना, तिलोत्तमा, देवदह, भैरहवासँगै कन्चनमा समेत क्रिकेट रंगशालाको डिपिआर र अन्य कामहरु हुने क्रममा रहेको सदस्य सचिव सिलवालको भनाइ छ ।

क्रिकेट रंगशालाको डिपिआरबारे जानकारी लिदै सिलवालले धुर्मुश सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको क्रिकेट रंगशाला र यहाँ निर्माण हुन लागेको रंगशालाको नाम एउटै रहेकोले नाम परिमार्जित गर्न समेत नगरपालिकालाई सुझाउनुभयो ।

करिब १५ बिगाह जग्गामा बन्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको डिपिआर नगरपालिकाले केही दिन अघि सार्वजनिक गरेको थियो । करिब २३ हजार दर्शक अट्ने गरी उक्त रंगशालाको डिपिआर बनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button