तपाईँ सुन्दै हुनुहुन्छः

तरकारी खेतीमा आकर्षण बढेसंगै उत्पादनमा पनि बृद्धि

बैतडी । बैतडीका किसानको तरकारी खेतीमा आकर्षण बढेसंगै उत्पादनमा पनि बृद्धि भएको छ । जिल्लामा यो बर्ष ५ हजार ५ सय ५५ मेट्रिक टन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

खास गरेर बन्दा, काउलीलगायतको उत्पादन बढेको हो । बैतडीमा गत बर्ष ५ हजार मेट्रिक टन तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो । जिल्लाको ५ सय ५ हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिदै आएको छ । यस्तै यो बर्ष ४ हजार ४ सय २७ मेट्रिक टन आलु उत्पादन भएको छ । गत बर्ष ३ हजार ८ सय ३२ मेट्रिक टन आलु उत्पादन भएको थियो ।

जिल्लाको ३ सय ८५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिदै आएको छ । उन्नत बिउको प्रयोगले तरकारी उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख चन्दको भनाई छ । अन्नबालीभन्दा तरकारी खेतीमा फाइदा हुने भएपछि यहाँका किसान तरकारी खेतीमा आकर्षित भएका हुन् ।

जिल्लाको दशरथचन्द नगरपालिकाको जर्ग, पाटन नगरपालिकाको सिद्धपुर र सिद्धेश्वर, दोगडाकेदार गाउँपालिकाको श्रीकोट, श्रीकेदार, न्वाली, डिलाशैनी गाउँपालिकाको गोकुलेश्वर, मेलौली नगरपालिकाको महारुद तरकारीको पकेट क्षेत्रका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button