मिथिलामा छठ पर्वको तयारी तीब्र, घाटहरु सजाईदै

जनकपुरधाम । दिपावली तथा भ्रातृद्वितीया अर्थात तिहार पर्व सकिएलगत्तै मिथिलाञ्चलमा छठको तयारी तीब्र रुपमा शुरु भएको छ । छठका पर्व गर्नका लागि पोखरी, तलाउँ, नदि एवं सरोवरहरुको सरसफाई तथा शौन्दर्यीकरणको कामकाजमा सर्वसाधारणहरु जुटेका छन् ।
खास गरेर जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर, धनुषागर, अंगराजसर, महाराजसागर, अग्निकुण्ड, रत्नसागर सहितका दर्जनौ पोखरीहरुलाई सजाउने कामकाज भईरहेको छ ।
यस पटक निश्चित दूरी बनाएर विना भिडभाड छठ पर्व मनाउनका लागि स्थानीय प्रशासनले सूचना जारी गरेका कारणले छठको घाटहरुलाई फराकिलो बनाउने काम भईरहेको विभिन्न छठ पूँजा समितिहरुले जनाएको छ ।

कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न नियम निष्ठा र विधिपूर्वक सम्पन्न गरिने छठपर्व यसपालि भोलि देखि शुरु हुन लागेको छ । सूर्यको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन ब्रतालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखो खाना खाने जसलाई स्थानीय भाषामा ‘नहाय–खाय’ भन्ने गरिन्छ ।
त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन ब्रतालुले दिनभरि निराहार बसेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिर, पुरि छठीमैयालाई अर्पण गरेर परिवारजन ईष्टमित्र तथा आफन्तजनहरुलाई प्रसाद स्वरुप खाने र खुवाने गर्दछन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।
पर्वको मुख्य दिन षष्टी तिथीका दिन ब्रतालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा तयार पारिईएको छठी घाटमा स्नान गर्दै सूर्यदेवलाई प्रथम अघ्र्य दिने चलन रहेको छ । यसमा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, उखु, नारिवल, फलफूल सहितका सामग्री सूर्यलाई अर्पण गर्दछन् । यो विधिलाई सन्ध्याकालिन अर्घ भनिन्छ ।

षष्ठीको रात सूर्यदेव र छठी (सूर्यदेवकी पत्नी)को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । यद्यपि यसपालि कोभिड–१९ सङ्क्रमणको सन्त्रासले धेरैजसो बर्तालुले घर आँगनमै व्रत विधि सम्पन्न गर्ने तयारी जुटेका भएपनि पोखरी एवं तँलाउँलाई सजाउने काम भईरहेको छ ।
पर्वको अन्तिम सप्तमी तिथिका दिन विहान देखि शरीरको आधा भाग पानीमा डुवाएर सूर्यदेवको उपासना गर्ने र उदयपछि भगवान सूर्यलाई पुनः अर्घ दिएर ब्रतको विधिवत सम्पन्न गरिन्छ । खास गरेर प्रकृतिको महत्व दर्शाउने छठ पर्व धार्मिक, सांस्कृति तथा जातिय एकता, सदुभावको पर्वको रुपम मनाईन्छ ।
छठपर्व गर्नाले मनोवाञ्छित फल पाइने, सन्तानको सुख प्राप्त हुने र रोगव्याध नलाग्ने जनविश्वास रहेको छ । यो पर्वमा किसानको उत्पादन देखि जातिय रुपमा उत्पादन गरिने सामानहरुको अधिकतम रुपमा प्रयोग गरिने भएकाले यसमा व्यापक सहभागिता हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्