कर्णाली प्रतिष्ठानमा ‘नाक, कान, घाँटीको’ विशेषज्ञ सेवा सुरु

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु भएको छ । उसअघि पनि दर्जनौँ विशेषज्ञ उपचार सेवा दिँदै आएको प्रतिष्ठानले कार्तिक तेस्रो सातादेखि कर्णालीमै पहिलो पटक नाक, कान र घाँटीको विशेषज्ञ उपचार सेवा सुरु गरेको हो ।
नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले सुरु गर्नुभएको हो । जुम्लामा धुलो धुवाँ तथा खानपानकै कारण नाक, कान र घाँटीका बिरामी बढ्दै गएपनि विशेषज्ञ सेवा नहुँदा सुर्खेत नेपालगन्ज जानु पर्ने समस्या थियो । जुम्लामै विशेषज्ञ सेवा सुरु भएपछि विपन्न नागरिकेसमेत राहत पाउने प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्लेले बताउनुभयो ।
उहाँका अनुसार नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीलाई थप सहयोग पुगेको छ । यस अघिदेखि प्रतिष्ठानले जिपी इमरजेन्सी मेडिसिन, सर्जरी, महिला तथा प्रसूति रोग, मेडिसिन, हाड जोर्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आइसियु, एनआईसियु, कोरोना आइसियु, पल्मोनोलोजीलगायतको दर्जनौँ विशेषज्ञ सेवा दिँदै आइरहेको प्रतिष्ठानका डा. निरेश थापाले बताउनुभयो ।
उहाँले भन्नुभयो,“क्यान्सर, मिर्गौला, न्यूरो स्पाइनल सर्जरी रोगका लागि नेपाल सरकारले प्रतिष्ठानलाई सूचीकृत गर्दैछ । अब कर्णालीका नागरिकहरूले यी जटिल खालका रोगहरूको प्रतिष्ठानबाट निःशुल्क उपचार पाउनेछन् ।”
यता, अस्पताल निर्देशक डा.मंगल रावलले प्रतिष्ठानको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हासिल भएको र यसको संस्थागत विकासमा सबैको महोत्वपुर्ण भूमिका रहेको बताउनुभयो । प्रतिष्ठानले कर्णाली प्रदेशका १० जिल्लासहित सुदूरपश्चिम प्रदेशका बझाङ बाजुरा र अछाममा समेत आफ्नो सेवा प्रवाह गर्दै आएको छ । निर्देशक रावलले भन्नुभयो,“यसले सेवा क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको अवसर प्रदान गर्दै आएको छ ।”
प्रशासनको ताला अझै खुलेन
यता,विगत एक महिनादेखि प्रतिष्ठानको शैक्षिक प्रशासनमा गरिएको तालाबन्दी अझै खुलेको छैन । उपकुलपतिले एकलौटी निर्णयबाट प्रतिष्ठानलाई आर्थिक भार हुने गरी डिन नियुक्ति गरेको विषयलाई लिएर कर्मचारीले गरेको ताला अझै खुलेको छैन । नत कर्मचारीसँग वार्ता छ, नत ताला खुलाउन उपकुलपति लगायत अन्य पदाधिकारीले चासो दिएका छन् । उपकुलपति कसैको फोन पनि नउठाउने र वार्ताका लागि पनि चासो नदिँदा समस्या भइरहेको प्रतिष्ठानका कर्मचारी सङ्घका अध्यक्ष उमाकान्त गौतमले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्