तपाईँ सुन्दै हुनुहुन्छः

चलचित्र क्षेत्रलाई निराश नहुन सञ्चारमन्त्री गुरुङको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले चलचित्र क्षेत्रलाई निराश नहुन आग्रह गर्नुभएको छ ।

सरकार प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सभ्य र समुन्नत नेपाल निर्माण हुने गरी समाज रुपान्तरणमा योगदान पुग्ने गरी चलचित्रहरुको निर्माण गर्न विशेष ध्यान दिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

शुक्रबार अपरान्ह काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्ड, नेपालको अनुगमन गर्ने क्रममा उहाँले कोभिड–१९ को महामारीले सबै क्षेत्रलाई पीडा दिएको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढनुको विकल्प नरहेको बताउनु भयो ।

‘संकटको यस घडीमा कसैले पनि निराश हुने, पलायन हुने गर्नु हुन्न,’ मन्त्री गुरुङले भन्नु भयो, ‘कोभिडकै कारण चलचित्र निर्माण समेत हुन नसकेको अवस्थामा त्यसलाई मुकाबिला गरेर अघि बढनुको विकल्प छैन ।’

मन्त्री गुरुङले चलचित्र क्षेत्रमा हाल देखिएको संकटबारे सरकार जानकार रहेको उल्लेख गर्नुहुँदै यस क्षेत्रमा लगानी प्रवर्द्धनका लागि आवश्यक सुझाव दिन पनि चलचित्र क्षेत्रका लगानीकर्ताहरुबीच छलफल गराउने सोच अघि बढाइएको बताउनु भयो ।

उहाँले सरकारले साना तथा मझौंला उद्यमीहरु लगानीको अभावमा झनै मारमा परेको उल्लेख गर्नुहुँदै उनीहरुलाई न्यून ब्याजदरमा ऋण उपलब्ध गराउने तयारी भईरहेको पनि जानकारी दिनु भयो ।

मन्त्री गुरुङले राष्ट्र र राष्ट्रियता, भाषा, संस्कृति, भूगोल सबैको संरक्षण र संवद्र्धन हुने गरी चलचित्र निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । हिमाल, पहाड, तराईका दूर्गम गाउँहरुमा जागरण ल्याउने खालका चलचित्र बन्न सकेमात्रै नेपाली चलचित्र क्षेत्रको विकासमा योगदान पुग्ने मन्त्री गुरुङको भनाई थियो ।

उहाँले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत, कानुनी र संरचना निर्माणमा सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले चलचित्र क्षेत्रले भोग्दै आएका समस्या समाधान गर्न लागिपर्ने बताउनु भयो ।

बोर्डका कार्यकारी अध्यक्ष दयाराम दाहालले चलचित्र निर्माण र हल सञ्चालनका लागि आवश्यक वातावरण बनाईदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराउनु भएको थियो ।

त्यस अवसरमा मन्त्री गुरुङले बोर्डले निर्माण गरेको हलको पनि उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button