भूमिहिनलाई मंसिर ३ गतेदेखि जग्गाधनी पूर्जा उपलव्ध गराईनेः नगर प्रमुख हमाल
कञ्चनपुर- सरकारले भूमिहिन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई पहिलो चरण अन्तर्गत मंसिर ३ गतेदेखि जग्गाधनी पूर्जा उपलब्ध गराउने भएको छ। सरकारले पहिलो चरणमा छनौट गरेका स्थानीय तहहरुमा कञ्चनपुरको कृष्णपुर नगरपालिका छनौट भएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर हमालले जानकारी दिनुभयो । उहांले प्रत्येक प्रदेशबाट दुई वटा पालिका गरी देशभरमा १४ वटा स्थानीय छनौट भएको र त्यसमा सुदुरपश्चिम प्रदेशमा कञ्चनपुरको कृष्णपुर र कैलालीको गौरीगंगा नगरपालिका परेको बताउनुभयो ।
उहांका अनुसार पालिकाहरुले यसअघि पठाएको तथ्यांकका आधारमा आयोगको प्राविधिक सहयोगमा पालिकाले पुनः तथ्याङ्क संकलन तथा नापजाँच र व्यवस्थापनको काम गर्नेछ।सरकारले भूमीहिन, सुकुम्बासी तथा अव्यवस्थित परिवारलाई व्यवस्थित गर्ने कार्यविधि पास गरेसँगै भूमी सुधार समस्या समाधान आयोगले उनीहरुको पहिचान, लागत संकलन र प्रमाणिकरणका लागि स्थानीय तहहरुबाट तथ्याङ्क माग गरेको थियो । जसअन्र्तगत कृष्णपुरबाट १० हजार दुई सय २९ परिवारलाई जग्गाधनी पुर्जाका लागि सिफारिस गरिएको छ।
कृष्णपुर नगरपालिकाले दिएको जानकारी अनुसार पालिकाभित्र १७ हजार चार सय ८१ परिवारको बसोबास छ । जसमध्ये एक हजार सात सय २५ परिवार भूमीहिन दलित परिवार रहेका छन्। यस्तै एक हजार नौ सय ७५ भूमीहिन सुकुम्बासी र छ हजार पाँच सय ९७ परिवार अव्यवस्थित बसोबास भएका परिवार छन्।नगरप्रमुख हमालले तिहारपछि नगरपालिकामा छुट्टै डेस्क नै स्थापना गरेर पुनः तथ्यांक संकलन गरिन्छ, त्यसपछि मात्रै लालपुर्जा दिने काम हुने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्