तपाईँ सुन्दै हुनुहुन्छः

पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्दै

file photo

रुपन्देही । स्थानीय तथा प्रदेश सरकारले चासो बढाएपछि रुपन्देहीमा पुष्प खेतीतर्फ किसानको आकर्षण ह्वातै बढेको छ ।

भारतबाट आउने आयातलाई रोकेर लुम्बिनी प्रदेशलाई फूलमा आत्मनिर्भर बनाई निर्यात गर्ने व्यवसायीले लक्ष्य राखेका छन् । कम लगानीमा राम्रो आम्दानी हुने र सरकारले पनि अनुदान दिन थालेकाले पुष्प खेतीतर्फ आर्कषण बढेको उनीहरुको भनाइ छ ।

यसको व्यवसायिक रुपमा खेती हुन थालेपछि पुष्प खेतीमा यो क्षेत्रआत्मनिर्भर भएको व्यवसायी किरणकुमार श्रेष्ठ बताउनुहुन्छ ।

अहिले विभिन्न स्थानमा समूह गठन गरी सामुहिक पुष्प खेती गरिंदै आएको छ । रुपन्देहीका बुटवल, तिलोत्तमा, रोहिणी, देवदह, सैनामैना, लुम्बिनी, भैरहवा लगायतका क्षेत्रमा तिहार लक्षित सयपत्री र मखमली फूलको खेती गरिएको छ ।

तिलोत्तमा ४ मा क्षितिज नमुना कृषक समूहले सामुहिक पुष्प खेती गरेको छ । गत वर्षदेखि पुष्प खेती गर्न सुरु गरेको समूहले यस वर्ष ५ देखि ८ हजार माला उत्पादन हुने अध्यक्ष नविना भण्डारीले बताउनुभयो ।

त्यस्तै सहकदम कृषक समुह तिलोत्तमाले पनि पुष्प खेती गर्दै आएको छ । उद्यमी महिला देवी वाग्लेसहितको महिला समूहले गत वर्षदेखि नै पुष्प खेती सुरु गरेको हो ।

लुम्बिनी प्रदेश सरकारले ‘व्यावसायिक पुष्प खेती गरौं, आत्मनिर्भर बनौं, आयात होइन निर्यात गरौं’ भन्ने नारासहित पुष्प खेतीमा अनुदान दिएकाले पुष्प खेतीमा आर्कषण बढेको हो ।

यस वर्ष लुम्बिनी प्रदेशमा ४ लाख माला आवश्यक रहेको अनुमान पुष्प व्यवसायीले गरेका छन् । १२ जिल्लामध्ये ९ जिल्लामा उत्पादन भइरहेको फूलले यस वर्ष भारतीय फूलको प्रयोग गर्न नपर्ने गरी प्रदेशमा फूलको उत्पादन भएको पुष्प व्यवसायी संघ, लुम्बिनी प्रदेश अध्यक्ष रमेश पाण्डे बताउनुहुन्छ ।

लुम्बिनी प्रदेशमा रुपन्देहीसहित पाल्पा, गुल्मी, दाङ, बाँके, नेपालगञ्ज, अर्घाखांची, नवलपरासीमा व्यवसायिक रुपमा पुष्प खेती हुँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button