तपाईँ सुन्दै हुनुहुन्छः

अवैध क्रसर तथा नदीजन्य सामाग्री उत्खननमा रोक


बागलुङ । बागलुङ जिल्लामा सञ्चालित अवैध क्रसर तथा नदीजन्य सामाग्री उत्खननमा रोक लगाइने भएको छ ।

नदीजन्य पदार्थको उत्खनन, संकलन तथा बिक्री वितरण सम्बन्धि जिल्ला अनुगमन समितिले जिल्लाको गल्कोट नगरपालिका, बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिकामा गरेको अनुगमनका क्रममा भेटिएका अवैध क्रसर र नदीजन्य तथा खानी पदार्थ उत्खनन् संकलन र बिक्री प्रक्रियामा रोक लगाइएको अनुगमन समितिका संयोजक जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले जानकारी दिनुभएको छ ।

गल्कोट नगरपालिका भित्र सञ्चालनमा रहेका दुई वटा क्रसर उद्योग, बडिगाड तथा ढोरपाटनमा बडिगाड खोलामा उत्खनन् गरिएको नीजन्य सामाग्रीलाई बिक्री वितरण गर्न तथा ढुवानी कार्यको लागि रोक लगाइएको र ताराखोला गाउँपालिकामा सञ्चालित ढुँगा खानीलाई नियमन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभएको छ ।

ढुंगा गिटी तथा बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७७ अनुसार स्थानीय तहले वातावरणीय प्रभाव मुल्यांकनसहित कानुनी प्रक्रिया पुरा गरेर नदीजन्य सामाग्रीहरु विक्री वितरण गर्न सक्ने व्यवस्था छ ।

सोही अनुरुप कानूनी प्रक्रिया पुरा गरेपछि मात्रै नदीजन्य पदार्थ उत्खनन् गर्न पाइने भएकोले त्यतिन्जेलको लागि ढुँगा, गिटी बालुवालगायतका नदीजन्य सामाग्री उत्खनन्, विक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भएको छ ।

यसैबीच बडिगाड गाउँपालिकामा बसेको नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा विक्री वितरण सम्बन्धी जिल्ला अनुगमन समितिको बैठकले बडिगाड गाउँपालिका वडा नं. ७ स्थित कालिरह भन्ने स्थानमा डोजर प्रयोग गरी उत्खनन् गरिएको गिट्टी बालुवालाई बिक्री वितरणमा रोक लगाउँदै त्यसको आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन बडिगाड गाउँपालिकालाई निर्देशन गरेको छ ।

बडिगाड गाउँपालिकाले आवश्यक वातावरणीय प्रभाव मुल्यांकनसहित आवश्यक कानुनी प्रक्रिया पुरा गरेर सो सामाग्री तथा अन्य स्थानमा नदीजन्य पदार्थ उत्खनन् गर्ने गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button