जुम्लाका जेष्ठ नागरिकले भत्ता पाएनन्

-पहिलो चौमासिकको असोज महिनामै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यविधिमा व्यवस्था छ । तर जुम्लाका जेष्ठ नागरिकले यसपाली कार्तिक महिना अन्त्य सम्ममा पनि भत्ता नपाएपछि आन्दोलिनमा उत्रिएका छन् ।
विगतका वर्षमा दशै अगाडीनै भत्ता बुझेका जेष्ठनागरिले पहिलो चौमासिक बित्न लागिसक्दा पनि भत्ता नदिएपछि आन्दोलनमा उत्रिएको जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले बताउनु भयो ।
उहाँले भन्नुभयो,“बितेको दशैमा आठै स्थानीयतहका हजारौ जेष्ठ नागरिकले भत्ता पाउने आशा गर्दा गर्दै नदिएपछि निराशामै दशै मनाए । तिहार सम्म भत्ता पाउने आशा थियो । तर तिहार नजिकीदा पनि भत्ता दिने सुर छैन् ।”
संघियतापछि जेष्ठ नागरिकहरुका सबालमा वकालत गर्ने निकाय घटेका छन् । अध्यक्ष भारतीले भन्नुभयो, “जेष्ठ नागरिकको पक्षमा बोलिदिने नियम, कानुन, प्रशासन, राजनीतिक नेता कोही पनि छैनन् ।”
पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेपछि नगरक्षेत्रभित्रका जेष्ठनागरिक आन्दोलित भएको चन्दननाथ नगरपालिका ५ का ७८ वर्षीय पुर्णबहादुर खत्रीले बताउनुभयो ।
जेष्ठनागरिक सबै भत्तामा आश्रीत छन् । स्थानीय सरकार भत्ता वितरण पटक पटक छलकपट गर्न थाल्यो । गएको दसैं त जसोतसो मनाइयो, तिहार कसरी मनाउने होला भन्ने चिन्ताले पिरोल् थालेको खत्रीले उल्लेख गर्नुभयो ।
भत्ता आए नआएको वितरण कहिले हुन्छ भन्ने बारे नगपालिकामा सोधपुछका लागि जाँदा पनि कर्मचारीले मगन्तेको व्यवहार देखाउने वास्तानै नगर्ने गरेको समेत गुनासो गर्नुभयो । नगरपालिकाका जेष्ठ नागरिक आन्दोलित भएपनि गाउँका जेष्ठ नागरिकहरु भने मन पिरोली बसेका छन् ।
तातोपानी २ की बुदि दमाईले भनिन, “खाता नखालेकालाई भत्ता नदिने भनेर खाता पनि खोल्यौ तर दशै तिहार जस्ता महान पर्वमा पनि भत्ता नपाउनु कस्तो विडम्बना हो ।”
सबै क्षेत्रका लागि बजेट हुने तर जेष्ठनागरिकका लागि मात्रै कन्जुसाई किन होला भन्दै चाडै भत्ता दिन उहाँको माग छ । ६२ वर्षिय दमाईले थपिन, छोरा भारतमा छ, कमाउने कोहि छैन्, दशै नरमाइलोनै भयो । तिहार भत्ता आउला सोचेको नआउने भयो । म बुढी मान्छे कहा ऋण मागेर तिहार मनायौ भन्दै दुखेसो पोख्नुभयो ।
चन्दननाथ नगरपालिका पञ्जिकरण शाखाका प्रमुख भक्तीलाल बुढाका अनुसार नगरपालिकाका जेष्ठनागरिकलाई तिहार अगावै भत्ता वितरण गरिने छ । दशैमा निकासा नआएकाले वितरण गर्न नसकिएको बताउनुभयो ।
चन्दननाथ नगरपालिकामा ७ सय २० जना जेष्ठ नागरिक, ३ सय ४५ एकल महिला, एक हजार ४ सय बालबालिका र १ सय ६६ जना अपांग व्यक्ति छन् । सबैलाई तिहार अगाडीनै भत्ता दिइने बुढाको भनाई छ । हरेक दशैमा पाई रहेका जेष्ठ नागरिकले यसपाली नपाउँदा आन्दोलन गर्नु स्वभाविक रहेको नगरपालिकाको भनाई छ ।
यता तातोपानी गाउँपालिका जेष्ठ नागरिक शाखा प्रमुख बालकृष्ण बुढा भन्छन, “तातोपानी गाउँपालिकामा पनि निकासा कम आउँदा भत्ता वितरण रोकिएको छ । पहिलो चौमासिकमा १ करोड ८० लाख चाहिनेमा १ करोड १० लाख मात्रै आयो । ७० लाख अभाव छ मन्त्रालयमा थप निकासाका लागि अनुरोध गर्दा नआएकाले समस्या भएको हो ।”
चन्दननाथ नगरपालिका बाहेक जुम्लाका अन्य सातै तहमा बजेट निकासा कम आएकाले तिहारमा पनि भत्ता वितरण नहुने भएको छ । जुम्लाभरीकै जेष्ठनागरिक भत्ता नपाउँदा मर्कामा छन् ।
तातोपानीमा जेष्ठ नागरिक १२ सय जना, एकल महिला २ सय १३,क वर्गका अपांग १५ जना, ख वर्गका ७५ र बालबालिका २ हजार १ सय २० जना छन् । यी सबैलाई तिहार लगत्तै भत्ता वितरणका लागि पहल भईरहेको बुढाको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्