तपाईँ सुन्दै हुनुहुन्छः

२९६ छात्रालाई महानगरद्वारा साइकल वितरण

भरतपुर- भरतपुर महानगरपालिकाले विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्रालाई साइकल वितरण गरेको छ । महानगरका वडा नं १७, २४, २५, २६, २७ र २८ का १६२ जनालाई महानगर प्रमुख रेनु दाहालले सोमबार साइकल वितरण गर्नुभएको हो ।

भरतपुर महानगरपालिकाले पश्चिम चितवनका १३, १४, २२, २३, २४ वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई यसअघि नै साइकल वितरण गरेको थियो । हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको छ ।

महानगरले १२ वटा वडाका कुल ३३० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ । जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल हस्तान्तरण गरिएको हो ।

कोभिडका कारण अघिल्लो आर्थिक वर्षमा साइकल हस्तान्तरण गर्न नसकिएकाले यसपटक साइकल हस्तान्तरण गरिएको महानगर प्रमुख दाहालले बताउनुभयो ।

महानगर प्रमुख दाहालले महानगरका विद्यालयलाई छात्रामैत्री र प्रविधिमैत्री बनाउन लागिपरेको जानकारी दिनुभयो । महानगरका आधारभूत विद्यालयलाई ल्यापटप वितरण गर्ने तयारी थालेको र सबै विद्यालयमा इन्टरनेटको प्रबन्ध यही वर्षमा गरिने उहाँको भनाइ छ ।

महानगरभित्रका सरकारी विद्यालयको शैक्षिकस्तर विकासका लागि भौतिक संरचना विकासमा धमाधम काम भइरहेको उहाँले बताउनुभयो । एक सय २३ सामुदायिक विद्यालयमध्ये ६० वटा विद्यालयको भौतिक संरचना निर्माण अहिले महानगरले गरिरहेको दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button