तपाईँ सुन्दै हुनुहुन्छः

अब लक्षण देखिएका विरामीको कोरोना परीक्षण र उपचार  निःशुल्क

काठमाडौँ । सरकारले लक्षण देखिएका कोरोना सङ्क्रमितको परीक्षण र उपचार सरकारी अस्पताल र प्रयोगशालाबाट निःशुल्क गर्ने निर्णय गरेको छ ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना सङ्क्रमितहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
बैठकले विभिन्न मुलुकहरूमा विकसित भइरहेका कोरोना विरुद्धको खोप पनि छोटो प्रक्रियाबाट नेपाल भित्र्याउन स्वास्थ्य, परराष्ट्र र अर्थ मन्त्रालयका तीन सचिव सम्मिलित एक संयन्त्र गठन गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले रेडियो नेपाललाई जानकारी दिनुभयो ।
बैठकले कोरोना भाइरसको बढ्दो संक्रमण र यसले राज्यकोमा पारेको असरलाई मध्यनजर गर्दै  मन्त्रिपरिषद्को सदस्यहरुले २०७७ सालको पारिश्रमिक मध्ये आधा तलब  कोरोना संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको मन्त्री ज्ञवालीले बताउनु भयो ।
यसैगरी नेपालको कृषि क्षेत्रलाई अत्यावश्यक पर्ने  रासायनियक मल नेपालमै उत्पादन गर्न चाहिने उद्योग स्थापना गर्न अर्थ मन्त्री, उद्योग मन्त्री र परराष्ट्र मन्त्री सम्मिलित एक संयन्त्र बनाउने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
सरकारले तत्काल मलको अभाव हुन नदिन बंगलादेशबाट ‘जीटुजी’ (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने निर्णयसमेत गरेको छ ।

यसैबीच सरकारले पुस्तक आयातमा १० प्रतिशतका दरले लगाइएको भन्सार महसुल समेत हटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button