पर्वतको पैयुँ गाउँपालिकामा निषेधाज्ञा, तिहारमा देउसी खेल्न नपाईने
पर्वत-पर्वतको पैयुँ गाउँपालिकाले कोरोना सङ्क्रमण समूदायमा फैलिन नदिन गाउँपालिका र मातहतका वडाका प्रसासनिक सेवा बन्द गरेको छ । कार्तिक २२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणको क्रममा हुवासका दुई जना पुरुषमा कोरोना पुष्टि भएपछि गाउँपालिकाले आईतवार देखि अनिश्चितकालिन रुपमा गाउँपालिका तथा वडाका अत्यावश्यक वाहेकका सेवा बन्द गरिएको हो । सङ्क्रमित बैँक तथा बित्तिय संस्थामा कार्यरत कर्मचारी रहेको जनाईएको छ ।
सङ्क्रमितलाई गाउँपालिकाले बनाएको अस्थाई कोरोना अस्पतालको आईसोलेसनमा राखिएको छ । गाउँपालिकाका अध्यक्ष खगेन्द्रप्रसाद तिवारीद्धारा जारी सूचनामा गाउँपालिका भित्रका बैँक तथा वित्तिय संस्था बन्द गर्ने, गाउँ कार्यपालिका र वडा कार्यालयको अत्यावश्यक सेवा वाहेकका सेवा बन्द गर्ने, हातेमालो चोक लगायत मानिसहरुको भीड हुने ठाउँमा अनिवार्य मास्क लगाएर हिँड्न अनुरोध गर्ने निर्णय भएको उल्लेख छ ।
तिहारको देउसीभैलो खेल्न पनि गाउँपालिकाले रोक लगाएको छ । मंसिर १ गते तिहार रहेको छ । तिहार आउनुभन्दा एक हप्ता अगाडी देखि नै देउसीभैलोको टोली बजार देखि गाउँ सम्म समूह बनाएर देउसीभैलो खेल्ने विगतको चलन थियो । यो वर्ष परिस्थिती अनुकुल नरहेकाले तिहारमा देउसीभैला नखेल्न अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले बताउनुभयो ।
सबै सरोकारवालाहरुलाई गाउँपालिकाको सूचनाको पालना गर्न अनुरोध गरिएको पौडेले बताउनुभयो । उहाँले स्थिती सामान्य बनाउनका लागि सबैको समान दायित्व रहेकाले सचेत र सजग बन्न अनुरोध गर्नुभएको छ । पैयुँ गाउँपालिकामा समूदाय सङ्क्रमणको झिल्को देखा परेको छ ।








प्रतिक्रिया राख्नुहोस्