सल्यानमा लोप हुँदै पानी घट्ट
सल्यान । पहिले पहिले पिठो पिस्न गाउँ–गाउँमा पानी घट्टको प्रयोग गरिन्थ्यो । त्यहि घट्ट एक रोजगारीको पेशा पनि बनेको थियो ।
पछिल्लो समय गाउँ गाउँमा भित्रिएका अत्याधुनिक उपकरणले पानी घट्टको प्रयोग र अस्तित्व संकटमा परेकोे छ । विशेषगरी, पिठो पिस्ने पानी घट्टलाई आधुनिक मिलले विस्थापित गरेको छ ।
पिठो पिस्ने घट्ट, धान कुट्ने ढिकी, तोरी पेल्ने कोललाई अहिलेका विद्युतीय उपकरणबाट चल्ने मिलहरुले विस्थापित गरिसकेको छ । हाल ती परम्परागत साधनहरु बिरलै भेटिन्छन । नयाँ पुस्ताले मौलिक प्रविधि संरक्षणमा चासो नदिनुले पनि घट्ट लोप हुन थालेको सिद्ध कुमाख गाउँपालिका ३ फलाटेका पुने रेउलेले बताए ।
आधुनिक प्रविधिको प्रयोगसँगै पानी घट्टको प्रयोग घट्दै गएको उनको भनाई छ । ‘मिल नहुँदा घट्टमा पिसानीको लागी पालो कूनुपर्ने अवस्था आउथ्यो’ उनले भने ‘हिजोआज पिसानीको लागी सबै मिल जान्छन ।’
पहिला घट्टमा पिसानी गरे बापत सञ्चालकलाई आफु खुसी एक दुई माना पिठो दिने गरिन्थ्यो । घट्ट सञ्चालनको पनि जीवन निर्वाह गर्ने साधन बनेको पानी घट्ट नयाँ पुस्ताले ईतिहासमा मात्र देख्न सक्ने अवस्था आएको बनगाड कुपिण्डे नगरपालिका नाथेखोलाका मोतिलाल दमाईले बताए ।
दमाईले पनि घट्ट सञ्चालन गरेका छन । घट्टमा आफ्नो र एक दुई परिवार बाहेक अरु पिसानीको लागी कोही नआउने गरेको उनले बताए ।
पानी घट्टमा पिठो पिस्न समय लाग्ने र विद्युतीय मिलमा छिटो छरितो हुने भएकोले पनि घट्ट आउन छोडेको उनको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्