तपाईँ सुन्दै हुनुहुन्छः

पर्सा, बारा र सर्लाहीका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा आज गरिएकोे पिसिआर परीक्षणको क्रममा बारा, पर्सा र सर्लाहीका गरी थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बारा र पर्साको विभिन्न स्थानबाट संकलन गरी ल्याइएको ९९ जनाको स्वाब परीक्षण गर्दा बाराका सात, पर्साका चार, र सर्लाहीको कविलास नगरपालिका वडा नम्बर ५ का एक जना गरी थप १२ जनामा सङ्क्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले जानकारी दिनुभयो ।

सङ्क्रमण पुष्टि हुनेमा पाँच जना महिला र सात जना पुरुष रहेका छन् ।

पर्सामा सङ्क्रमण पुष्टि भएकाहरुमा सबै बीरगंज महानगरपालिकाकै रहेका छन् । बीरगंज महानगरपालिका वडा नम्बर ४ का दुई जना, वडा नम्बर १५ र १६ का एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।

यस्तै बाराको जितपुर सिमरा आर्मी व्यारेकका दुई जना सैनिक जवानमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी बाराको आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ का तीन जना, कोल्हवी नगरपालिका वडा नम्बर १ र कलैया उप–महानगरपालिका वडा नम्बर ४ का एक र एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।

संक्रमण पुष्टि भएकाहरु २७ देखि ६० वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १९ देखि ३२ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिनुभयो ।

यसैविच चिसो बढेसँगै कोरोना भाइरस सक्रिय हुने हुदाँ सवधानी अपनाउन चिकित्सकहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button