मेल्लेख गाउँपालिकाकाे आफ्नै बस सेवा

अछाम -अछाम जिल्लाको मेल्लेख गाउँपालिकाले आफ्नै बस सेवा सञ्चालन गर्ने भएको छ । मेल्लेख गाउँपालिकाद्वारा सञ्चालित बस सेवा कात्तिक २६ गते बुधवारदेखि नियमित रूपमा सञ्चालन हुने भएको हो ।
मेल्लेख गाउँपालिका गाउँकार्यपालिकाले बसको रुट परमिट, भाडा दर कायम गर्दै कात्तिक २६ गतेदेखि दुई वटा बस नियमित सञ्चालन गर्ने भएको हाे ।
हाललाई बस बिन्धेबासानी- चौखुट्टे- मेल्लेख- नन्देगडा-साँफेबगर-बयलपाटा-जयगढ हुँदै मंगलसैनसम्म सञ्चालन हुने गाउँपालिका अध्यक्ष लाेगबहादुर बाेहराले बत्ताउनुभयो ।
बस सञ्चालनको लागि गाउँपालिकाले भाडा दर पनि कायम गरेको छ । प्रति किलोमिटर कालोपत्रे सडकमा ४ रुपैयाँ ५० पैसा र कच्ची सडकमा ९ रुपैयाँ ५० पैसाका दरले भाडा दर कायम गरिएको छ । बस सेवा सञ्चालनका लागि गाउँपालिकाले २ वटा आधुनिक बस खरिद गरी गाउँपालिकामा पुर्याइसकेको छ ।
गाउँपालिकाले सुदूरपश्चिम प्रदेश ०१००१ ख २३७४ र २३७५ नम्बरका बस ल्याइसकेको छ ।
सार्वजनिक बसमा सिसी टिभी क्यामरा, जिपिएस प्रणाली, ई-टिकटिङ जस्ता आधुनिक सेवा रहेका र गाउँपालिकाले डिजिटल बस सेवा सञ्चालन गर्न लागेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले जानकारी दिनुभयो ।
कोरोना महामारीबाट बच्न सरकाले लागू गरेको मापदण्डअनुसार सुरक्षा सतर्कता समेत अपनाई बसमा सेनिटाईजर, मास्क लगायतका सुरक्षा सामग्रीको समेत व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ ।
अछामका १० स्थानीय तह मध्ये आफ्नै बस सेवा सञ्चालन गर्ने मेल्लेख गाउँपालिका पहिलो हुने स्थानीय तह बन्ने भएको छ ।
यस्तै मेल्लेख गाउपालिकको बिकट क्षेत्रमा रहेका वडा मध्ये वडा नम्बर ३ ठाँटी र वडा नम्बर १ र २ ऋषि दहका जनतालाई सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गर्ने पनि गाउँपालिकाले निर्णय गरेको र छिट्टै प्रक्रिया अघि बढ्ने अध्यक्ष बाेहराकाे भनाइ छ ।
साथै मेल्लेख गाउँपालिकामा कृषि पकेट क्षेत्र सञ्चालनको लागि कृषि पकेट क्षेत्र सञ्चालन कार्य विधि २०७७ पनि पारित गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्