देउसी भैलो खेल्न तनहुँ प्रशासनद्वारा रोक, सुरक्षा व्यवस्थामा कडाइ
तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारमा देउसी भैलो खेल्न मनाही गरेको छ ।
कोभिड–१९ को सङ्क्रमण दैनिक बढिरहेको अवस्थालाई मध्यनजर गर्दै यसवर्षको तिहार देउसीभैलो खेल्न मनाही गरेको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र तनहुँले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो।
आफ्नै घर परिवारमा मात्रै सिमित रहेर चाडपर्व मनाउन जिल्ला प्रशासन कार्यालय तनहुँले अनुरोध गरेको छ ।
जिल्लाबासीलाई अत्यावश्यक परेर निस्कनै पर्ने अवस्था आए अनिवार्यरूपमा मास्क लगाएर मात्रै निस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
मादकपदार्थ सेवान गरी अनावश्यक होहल्ला नगर्न, जुवातास नखेल्न र भिडभाड नगराउन प्रशासनले आग्रह गरेको छ ।
भौतिक दुरी, साबुनपानीले पटक पटक हात धुन र स्वास्थ्य मापदण्ड पालन गर्न प्रशासनले सर्वसाधारणमा अनुरोध गरेको छ ।
उद्योग तथा व्यवसाय संचालन गर्दा नेपाल सरकारले तोकेको नियम पालना गर्न व्यवसायीलाई अनुरोध गरेको छ ।
उक्त नियमहरु उल्लंघन गरे संक्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
सुरक्षा व्यवस्थामा कडाइ
तिहाइ लगायतका पर्व नजिकिँदै गर्दा तनहुँ प्रहरीले सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । जिल्लामा भित्रिन सक्ने पटका तथा विष्फोटक पदार्थलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो ।
विष्फोटकजन्य पदार्थ भित्रिन सक्ने सम्भावित नाकामा सुरक्षा व्यवस्था सुदृढ बनाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।
बिहिबारदेखि सवारी चेकजाँच कार्यलाई कडाइ पार्न थालिएको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको पूर्वी प्रवेश नाका मुग्लिन पुल जीपमा रहेको प्रहरी चेक प्वाइन्टदेखि राजमार्गका सबै चेक प्वाइन्टमा चेकिङ कार्यलाई तीव्रता दिन थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्