लोपउन्मुख बन्दै पञ्चेबाजा

जुम्ला । पाँच दशक पहिले जुम्ला तातोपानी २ का सार्के दमाई पञ्चेबाजाका नाइके हुनुहुन्थ्यो । पञ्चेबाजा बजाउँदा अघि लागि सिकाउने भएकाले उहाँलाई सबैले नाइके भन्थे ।
उमेरले पाका सार्के दमाईको उमेर ढल्किँदै गएपछि उनले आफ्ना जेठा छोरा धनविर दमाईलाई बाजाको नाइके बनाए ।
धनवीर दमाईले आफ्ना बाको मृत्युपछि, नाइके भएर विभिन्न ठाउँमा पञ्चेबाजा बजाए । आफ्ना भाइ छोरालाई साथमा लिएर पञ्चेबाजाको महत्त्व र यसमा दमाई समुदाय जोडिएको महत्त्वबारे धनविरले धेरै समय आफ्नो समुदायलाई भनिरहे ।
अहिले धनविर दमाईको पनि मृत्यु भइसकेको छ । धनविरले आफ्ना बुवाले जस्तै नयाँ पुस्तालाई नाइके बनाउन भने सकेनन् । धनविरको मृत्युसँगै यत्तिखेर पञ्चेबाजा बजाउने नाइकेको अभाव खड्किएको छ ।

सार्के र धनविर दमाईका बाबु छोराको उदाहरण लिए पनि जुम्लाका आठै गाउँपालिकामा दमाई समुदाय छन् । सबैका बाउ बाजेले आफ्ना सन्तानलाई बाजा बजाउन सिकाएका थिए । बदलिँदो समयको प्रभाव भनौँ वा, राम्रो नेतृत्व गर्ने नाइके नपाएर हो, वा पेसा प्रति नै वितृष्णा बढेर, पछिल्लो समय दमाई समुदायमा पञ्चेबाजा बजाउने मानिसहरूको कमी देखिएको छ । पछिल्लो समय बिस्तारै दमाई समुदायले आफ्नो पुर्खौली पेसा र संस्कृति छोड्दै गइरहेका छन् ।

संस्कृत तथा भाषा विद् रमानन्द आर्चाय बाजा बजाउनेको सङ्ख्या कमी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘दलितको पेसा वा आफू हेपिए भन्ने ठान्नु हुन्न, यो त कला भएका व्यक्तिको जातमा आधारित सम्मानित पेसा हो, त्यसमाथि हाम्रो संस्कृति र सभ्यतासँग जोडिएको विषय हो । त्यसैले बजाउनेको आफ्नै पहिचान छ भन्ने ठान्नुपर्छ ।’ आज अलि पढेर बुझ्ने भएपछि आफ्नो पेसा र संस्कृति नै नबुझ्ने जस्तो गर्नु भनेको दुखद कुरा रहेको आचार्य बताउनुहुन्छ ।
कर्णालीमा पञ्चेबाजा महत्त्व
पञ्चेबाजा भन्ने बित्तिकै दमाहा, ज्याली, ट्याम्को,नरसिंह र सनही पर्दछन् । जुम्लाको परिवेशमा भन्नू पर्दा परा पुर्खाकामा जीवन निर्वाहका लागि दमाई समुदायले बजाउँदै आएको बाजा तथा पेसा थियो यो । यो विशेषगरी दलित समुदायसँग आधारित एक पुर्खौली पेसा पनि हो ।
कर्णालीमा रीतिरिवाज, परम्परा, पूजापाठ अनुसारको भिन्ना भिन्नै बाजा छन् । त्यति बेला यी बाजाहरु सजिलै बजाइन्थ्यो । उति बेला बाजा बजाउने पेशा दमाई समुदायको जीवन निर्वाहका लागि गरिने पुर्खौली पेसा थियो । त्यसमाथि पनि भाषा संस्कृतिले भरिपूर्ण कर्णालीमा पञ्चेबाजाको भिन्नै महत्त्व छ ।
विवाह,व्रतबन्ध,छोरो जन्मँदा, देवता पुज्दा,जुम्लामा यो बाजा नभई नहुने प्रचलन अहिले पनि छ । उ बेला विवाह व्रतबन्ध लगायतका उत्सवहरूमा दमाहा काँधमा बोकेर हातमा गजा लिएर घरको आँगनमा पञ्चेबाजा घन्काउँथे ।
विवाहको जन्ती जाँदा वा कुनै खुसीको अवसरमा पञ्चेबाजा बजाउँदा लगाउने कपडालाई आँगा भनिन्छ ।
शिरमा सेतो फेटा,रातो फुर्को,निदारमा टीका,काँधमा रातो सोल,रातो सुइटर,मुजा पारिएको घाग्रो, लगायत धेरै प्रकारका कपडा मिलेर बनेको पोसाकलाई आगा भनिन्छ । अहिले लगाउने आँगा त परै जाहोस् बजाउनेहरू समेत मुश्किकलले भेट्न पाइन्छ ।
दमाई समुदाय नै आफ्नो पेसा प्रति वितृष्णा व्यक्त गर्दछन् । बाजा समात्दा पनि लाज होला जस्तो व्यवहार गर्न थालेसँगै पञ्चेबाजा संरक्षणमा ठुलो चुनौती देखिएको,स्थानीय हस्त दमाइले बताउनुभयो ।

समग्ररुपमा पञ्चेबाजा देशभर नै छ । तर देशभर भन्दा कर्णालीमा बजाइने पञ्चेबाजाको महत्त्व भिन्न खालको छ । कर्णालीमा जिउँदाको जन्तीदेखि मर्दाको मलामीसम्म पनि पञ्चेबाजाको प्रयोग गर्ने गरिन्छ । अन्यत्र विशेषगरी खुसीका अवसरमा मात्र प्रयोग गरिने पञ्चेबाजा कर्णालीमा भने मर्दा पनि धूमधामका साथ बजाउने गरिन्छ ।
यसैले पनि कर्णालीमा पञ्चेबाजाको छुट्टै महत्त्व छ । ‘कर्णालीको कालिकोटमा पञ्चेबाजा घन्काएर दाहसंस्कार गरिन्छ’ कालिकोटका स्थानीय कालि बहादुर शाहीले बताउनुभयो ।
उहाँका अनुसार संस्कार अझै छ । तर बजाउने समुदाय भने आफ्नो पेसा प्रति रुचि राख्दैनन् । पुर्खादेखिको यो चलन अहिलेसम्म पनि कायमै छ । देवता पुज्दा, पञ्चेबाजा नबजाएसम्म धामी झाँक्रीलाई देवता आउदैन् । कर्णालीमा कुनै कुनै चाडपर्वहरू यस्ता छन् जहाँ पञ्चेबाजा नभई हुदैन ।
पञ्चेबाजा एकता समाज गठन
कणार्लीमा एक दशक अघि सबैका घरमा दमाहा हुथ्यो, ज्याली हुन्थ्यो । त्यो अचेल देख्न मुश्किकले मात्रै पाइन्छ ।

पञ्चेबाजा लोप भएसँगै कणार्लीका सञ्चारकर्मी सागर परियार तातोपानीका सम्पूर्ण दमाई समुदायलाई एकजुट गर्दै, पञ्चेबाजा एकता समाज गठनमा जुटेका छन् ।
‘एकता समाजले पञ्चेबाजाको उत्थान गर्ने छ, नयाँ पुस्तालाई आफ्नो पेसा प्रति जिम्मेवार बनाउन अभिप्रेरित गर्छौ’, अध्यक्ष रतन दमाईले भने । ‘स्थानीय सरकारसँग बजेट मागेर, दमाहा नभएकालाई दमाहा, आगा नभएकोलाई आगा दिने’ उहाँको भनाई छ । पञ्चेबाजा एकता समाजले, तातोपानी गाउँपालिका भरी रहेका दमाई समुदायलाई पञ्चेबाजा संरक्षण अभियानमा जोड्ने अभियान थाल्ने उहाँले बताउनुभयो ।
बिस्तारै जिल्ला भरिका दमाई समुदायलाई पञ्चेबाजा र यसको महत्त्वका विषयमा जागरण ल्याइने लक्ष्य रहेको उहाँले सुनाउनु भयो । नयाँ पुस्तालाई पञ्चेबाजा संरक्षणमा जुटाउँदै लैजाने उपाध्यक्ष गोविन्द दमाईले बताउनुभयो । ‘जात, धर्म भेग अनुसारका परम्परा कुनै पुस्ताले भुल्न हुँदैन, उ बेला चामल, पिठो ल्याउनकै लागि बजाइन्थ्यो । तर अब जर्गेनाका लागि जुट्नु पर्ने भयो’ उहाँले बताउनुभयो ।
एकता समाजमा तातोपानीका झन्डै १ सय बढी दमाई आबद्ध रहेको उहाँले बताउनुभयो ।
त्यसोत पञ्चेबाजा संरक्षणका लागि गत आर्थिक वर्षमा तातोपानी गाउँपालिकाले ५ लाख विनियोजित गरेको थियो । पञ्चेबाजा तयारीका लागि एकता समाज गठन भएपछि,बजेट छुटाएका थियो । कार्यविधि नै तयार गरी पञ्चेबाजा संरक्षणमा गाउँपालिका जुटेको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्ली पञ्चेबाजालाई विश्व सामु चिनाउन स्थानीय सरकारले योजनाका साथ अघि बढ्नु पर्ने छ । पञ्चेबाजा सँगै अन्य संस्कृति संरक्षणमा पनि जुटेका छौ ।”
लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा स्थानीय सरकारसमेत जुटेसँगै लोपोन्मुख अवस्थामा पुग्न लागेको पञ्चेबाजाले संरक्षण हुनेमा स्थानीयहरू आशावादी देखिन्छन् ।








प्रतिक्रिया राख्नुहोस्