वीरगंजमा कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द फेरि संक्रमण बढने सन्त्रास
वीरगंज । वीरगन्जमा कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरिएसँगै नगर क्षेत्रमा फेरि संक्रमण बढने त्रास छाएको छ ।
वीरगन्ज महानगरपालिकाले महानगरमा बुधवार देखि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य बन्द गरेको छ ।
संघ सरकारले कोरोनाको परीक्षण र उपचारसम्बन्धित व्यक्ति आफैले शुल्क तिरेर गर्नुपर्ने निर्णय गरेपछि महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन कार्य पनि बन्द गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते देशभरका सरकारी अस्पताल र प्रयोगशालालाई पठाएको पत्रमा आर्थिक रुपमा विपन्न, ज्येष्ठ नागरिक एक महिला, अपाङगता भएका व्यक्ति, सफाइकर्मी र सुरक्षाकर्मीको मात्रै लक्षण देखिएमा परीक्षण र उपचार निशुल्क गरिने उल्लेख छ ।
यी बाहेक अन्यले परीक्षण र उपचारको खर्च सम्बन्धित व्यक्ति आफैले व्यवहोर्नु पर्ने सरकारको निर्णय छ । मन्त्रालयको पत्रमा संक्रमितको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन रोक्ने व्यवहोरा उल्लेख नभएपनि वीरगन्ज महानगरपालिकाले नगर क्षेत्र भित्र कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरेपछि संक्रमण बढने खतरा देखिएको छ ।
कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन बन्द गरेसँगै महानगरमा कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन कार्यमा खट्दै आएका २१ जना स्वास्थ्यकर्मीलाइ महानगरपालिकाको स्वास्थ्य महाशाखाले पहिले कार्यरत स्वास्थ्य संस्थामा नै पठाइ सकेको छ ।
सरकारले शुल्क लाग्ने निर्णय गरेपछि महानगरमा कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन दुवै कार्य बन्द गरिएको महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख अरुण कुमार महत्तोले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्