तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा भारतीय स्थल सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित

  
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा रहनु भएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको महारथीको दर्ज्यानी चिन्ह, खड्ग तथा प्रमाणपत्र प्रदान गर्नु भएको नेपाली सेनाले जनाएको छ ।
नेपाल–भारतबिचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धको साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।
समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापा, रक्षा सचिव रेश्मीराज पाण्डे र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा लगायतको उपस्थिति  थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button