तुलसीपुरमा जन्मेका हरेक छोरीले अब भत्ता पाउने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र जन्मिएका हरेक छोरीले अब भत्ता पाउने भएका छन् । छोरीहरुको आर्थिक र सामाजिक सशक्तिकरणका लागि जन्मेदेखि हरेक महिना १ सयका दरले बैक खातामा रकम जम्मा गर्ने उपमहानगरपालिकाले जनाएको छ ।
त्यसका लागि कार्यपालिकाको ९५ औ बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि समेत पारित गरिसकेको छ । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरेको भएपनि कार्यान्वयनमा ल्याएको थिएन । मंगलबार कार्यविधि पारित भएपछि अब कार्यान्वयनको चरणमा जाने छ ।
कार्यविधिमा उल्लेख भए अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका उपमहानगरपालिका भित्रका हरेक छोरीहरुको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिनुभयो । कार्यविधि केही ढिला पारित भएको भएपनि कार्यक्रम साउन एक गतेदेखि लागु हुने उहाँको भनाई छ ।
कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिन भित्रमा अनिवार्य रुपमा जन्मदर्ता गराएको हुनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । समयमै जन्मदर्ता नगराउने अभिभावकले भत्ताकै कारण समयमै घटना दर्ता गराउने भएकाले घटना दर्तामा सुधार आउने उपमहानगरपालिको अपेक्षा छ ।
बालिकाका अभिभावकले बैंकमा खाता खोलेर खाता नम्वर उपमहानगरपालिकालाई उपलब्ध गराएपछि रकम जम्मा हुने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिमा उल्लेख भए अनुसार जन्मेको पहिलो महिनामा एक हजार दुई सय रुपैया र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ ।
उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । बालिका २० वर्ष पुगेपछि एकमुष्ट रुपमा मात्रै रकम निकाल्न सकिने प्रावधान रहेको छ ।
कार्यविधि अनुसार २० वर्ष नपुग्दासम्म विहे नगरेको र अनिवार्य रुपमा माध्यमिक तहसम्म अध्ययन गरेको हुनुपर्नेछ । विचमै विवाह गरेमा या माध्यमिक तहसम्म पढेको नभएमा रकम सरकारी खातामा फिर्ता हुनेछ उपमहानगरपालिको बताएको छ ।
समय अगावै बालिकाको मृत्यु भएमा, कडा रोग लागेर माध्यमिक तह पुरा गर्न नसकेमा, संरक्षकको मृत्यु भई आर्थिक कठिनाई भएमा भने खातामा जम्मा भएको रकम फिर्ता नहुने कार्यविधिमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्