तपाईँ सुन्दै हुनुहुन्छः

खोप अभावमा बीसीजी खोप सेवा बन्द

रामप्रसाद आचार्य, रुपन्देही । रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा बीसीजी सुई नहुँदा बीसीजी खोप सेवा बन्द भएको छ ।

प्रादेशिक अस्पतालले कार्तिक १२ गते सूचना प्रकाशित गर्दै सुई अभाव भएकाले अर्को सूचना नआउन्जेल बीसीजी खोप बन्द भएको जनाएको छ । बच्चा जन्मिदाबित्तिकै बीसीजी रोगविरुद्धको खोप दिइन्छ । तर अस्पतालमा उक्त खोपको सुई अभाव भएको भन्दै दैनिक ३० जनासम्म फर्कन बाध्य भएका छन् ।

सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने खोप सरकारी अस्पतालमा नपाएर फर्कनुपरेको सैनामैनाकी अमृता लम्सालले बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा. राजेन्द्र खनालले कोभिडका कारण यसबारे ध्यान नगएको हुनसक्ने बताउँदै अब केही समयमा व्यवस्थापन हुने बताउनुभयो । तर, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र लुम्बिनीले भने सिरिन्जको अभाव नभएको बताएको छ ।

केन्द्रका निर्देशक दिनेशकुमार चापागाईले सिरिन्ज अभाव नभएको भन्दै अस्पतालले नै माग नगरेर सिरिन्ज नगएको हुनसक्ने बताउनुभयो । हाल प्रदेशमा कुनै पनि खोप तथा सिरिन्ज अभाव नभएको चापागाईको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button