तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्किएका युवा अदुवा खेतीमा

स्याङ्जा । रोजगारीका लागि विदेशीएका युवाहरु पछिल्लो समय कृषिमा आर्कषित हुन थालेका छन् ।

स्याङ्जाका युवाहरु प्रायजसो विदेशबाट फर्किएपछि आफ्नै भुमिलाई उर्बर बनाउन जुटेका हुन् । विदेशको अनुभव र सिपलाई आफ्नै भुमिमा उपयोग गर्दै धेरै युवाहरु कृषिमै सफल र अब्बल बनेका छन् ।

यस्तै युवाहरुको भीडमा गल्याङका एक युवा कृषिमै आफ्नो जिवन सर्मपण गर्ने अठोटमा छन् । गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दिपक राना नगदे बालीतर्फ लाग्नुभएको छ ।

रानाले गत वर्षदेखि नगदेबाली अदुवा खेतिमा लाग्नुभएको हो । गत वर्ष ६ रोपनीमा अदुवा खेती गर्नुभएका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाउनुभएको छ ।

रानाले भन्नुभयो, ‘विदेशमा १७ घण्टा काम गर्दा मनमा सन्तुिष्ट हुँदैनथ्यो । तर अहिले आफ्नै भुमिमा ७, ८ घण्टा काम गर्दा मनमा छुट्टै आनन्द छ ।’ दुवै र कतारमा ५ वर्ष बिताउनुभएका रानाले गत वर्ष दुई लाखको कारोबार गर्नुभएको थियो ।

यस वर्ष बजारमा अदुवाको राम्रो बजार रहेकाले राम्रै भाउ पाएमा २० लाखसम्म आम्दानी गर्ने रानाको लक्ष्य छ । उहाँले १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जग्गामा अदुवा खेती गर्नुभएको हो ।

५ वर्ष विदेशको यात्रा पछाडि बाँझो जग्गाको सदुपयोग समेत हुने, बाँदरले नखाने, भिरालो जग्गामा समेत सजिलै आम्दानी गर्न सकिने भएपछि अदुवा खेतिमा लाग्नुभएको रानाले बताउनुभयो ।

रानाले भन्नुभयो, ‘हामीले पुर्खादेखि नै घरायसी प्रयोजनका लागि अदुवा लगाउँदै आएका हौँ । स्वास्थ्यवद्र्धक, मसलाजन्य अदुवाको बजार पनि राम्रो छ । त्यसैले यसको व्यवसायिक रुपमा लागेँ ।’

प्रशस्त प्राङगारिक मल भएमा अदुवा खेतिका लागि धेरै झण्झट बेहोर्न नपर्ने भएपछि उहाँले अदुवालाई नै थप विस्तार गर्ने सोँचमा हुनुहुन्छ ।
अर्को वर्ष थप २० रोपनी बढाएर ५० रोपनीमा अदुवा खेति गर्ने उहाँको लक्ष्य छ । रानाले भन्नुभयो, ‘सानै उमेरमा घरको समस्याले गर्दा विदेशिन पुँगे । पहिला स्थानीय सरकार थिएन् । अनुदान, साथ सहयोग केही थाहा पाइएन् ।

अहिले त कृषिमा राम्रो गर्न सकिए स्थानीय सरकारले पनि सहयोग गर्ने रहेछ् ।’ उहाँलाई नगरपालिकाले दुई लाख अदुवा खेतिका लागि अनुदान दिएको थियो ।

रानाले दिपिका कृषि फर्म दर्ता गरी बाख्रा समेत पाल्नुभएको छ । जिवनभर कृषिलाई नै अंगाल्ने सोच बनाउनुभएका रानाले बाख्रा, धान खेति र अदुवा खेतिलाई सँगसँगै अगाडि बढाउनुभएको छ ।

तल्लो तहको कृषकलाई माथि उकास्न नगदे बाली नै सहयोगी बन्ने उहाँको अनुभव छ । परम्परागत मकै कोदोभन्दा नगदेबालीमा छिटो आम्दानी र सजिलै आर्थिकोपार्जन गर्न सकिने रानाले बताउनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत गल्याङमा २५० हेक्टर क्षेत्रफलमा अदुवा खेती
गल्याङ नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकिकरण अन्र्तगत मसलाबाली जोन अन्र्तगत समेत अदुवा खेति गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना स्याङ्जाका प्रमुख माधव लम्सालका अनुसार गल्याङमा अहिले २५० हेक्टर क्षेत्रफलमा अदुवा खेति गरिएको छ ।

११ पालिका रहेको स्याङ्जामा मसलाबाली जोन अन्र्तगत गल्याङमा ५ सय हेक्टर क्षेत्रफलमा अदुवा लगाउने योजना रहेको प्रमुख लम्सालले बताउनुभयो ।

४ वर्षभित्रमा ५ सय हेक्टरमा अदुवा लगाउने कार्यक्रम रहेको र गल्याङमा मात्रै नपुगेमा अन्य पालिकामा समेत क्षेत्र विस्तार गर्न सकिने उहाँले बताउनुभयो ।

जोन अन्र्तगत अदुवा खेति गरेका कृषकलाई बिउ, मेसिनरी औजार, साना सिंचाईमा ५० प्रतिशत अनुदान दिईएको प्रमुख लम्सालले बताउनुभयो ।

त्यस्तै प्रशोधन केन्द्रका लागि समेत ८५ प्रतिशत अनुदान दिइने छ भने विमा ऋण सहजीकरणमा समेत सहयोग गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button