तपाईँ सुन्दै हुनुहुन्छः

किवीले बजार नपाएपछि सल्यानका किसान समस्यामा

सल्यान- किवीले बजार नपाएपछि सल्यानका किसानहरु समस्यामा परेका छन् । व्यावसायिक किवी खेती गर्दै आइरहेका सल्यानका किसानहरुको किवी बिक्री नहुँदा बारीमै थन्किएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण व्यापारीहरु गाउँसम्म आउँदा आफूहरुले लगाएको किवी बारीमै रहेको किसानहरुको भनाई छ । बुराँसेका झन्डै दुई दर्जन व्यावसायिक किसानहरु समस्यामा परेका छन् । बुराँसेमा मात्र झन्डै ५० लाख बढीको किवी बारीमै थन्किएको छ ।

३२ कोरोनी क्षेत्रफलमा किवी खेती गर्दै आएका छत्रेश्वरी गाउँपालिका २ बुराँसेका तेज बहादुर योगी यो वर्ष किवी बिक्री नहुँदा निकै समस्या भएको बताए । ३२ रोपनी जमिनमा ६ सय ५० बोट अहिले लटरम्म फेलेका भएपनि बजार नपाउँदा आफ्नो रोजीरोटी गुम्ने खतरा बढेको बताए ।

उनले भने ‘बिक्री हुँने निश्चित नभएपछि टिपेर मात्र के गर्नु, आफैले बिक्री गर्न जाने अवस्था पनि छैन ।’ गत वर्ष २० लाख आम्दानी गरेका योगीले यो वर्ष भने एक रुपैयाँ पनि हात नपर्ने होकी चिन्ता व्यक्त गरे ।


एक दुई साता भित्रमा किवी बिक्री नभए दैनिक गुजारा चलाउन नै समस्या हुने अर्का किसान चित्र बहादुर केसीले बताए । उनले भने ‘अन्न लगाउने बारी भरी किवी मात्रै छ । अन्य आम्दानीको स्रोत छैन ।’ मुख्य आम्दानीको स्रोत भनेको किवी नै बिक्री नभएपछि परिवार पाल्न नै समस्या हुन्छ ।

१२ रोपनी क्षेत्रफलमा किवी खेती गरेका केसीले कोरोनाका कारण किवी बिक्री नभएपछि बजारीकरण गरि दिन कृषि विकास कार्यालय सल्यानलाई उनले आग्रह गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button