पर्सा, बारा, र रौतहटका थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

वीरगञ्ज । बीरगन्जस्थित नारायणी अस्पतालमा गरिएकोे पछिल्लो पिसिआर परिक्षणको क्रममा पर्सा बारा र रौतहटका गरी थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
बारा र पर्साको विभिन्न स्थानबाट सङ्कलन गरी ल्याइएको ९६ जनाको स्वाब परिक्षण गर्दा पर्साका १३, बाराका तीन र रौतहटका एक जना गरी थप १७ जनामा कोरोना सङ्क्रमण भेटिएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश कुमार चौरसियाले बताउनुभयो ।
पर्साका ७३ जनाको पिसिआर परीक्षण गर्दा बीरगंज आर्मी व्यारेकका १ सैनिक जवानसहित १३ जनामा सङ्क्रमण पुष्टि भएको डा.चौरसियाले बताउनुभयो । सङ्क्रमण पुष्टि हुनेहरुमा बढी बीरगंज महानगरपालिकाका रहेका छन् ।
बीरगंज महानगरपालिका वडा नम्बर १३ र १५ मा दुई/दुई जना रहेका भने वडा नम्बर १, २, ५, ६, १०, १२, र ३२ मा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पर्साको ग्रामिण क्षेत्र बिन्दावासिनी गाउँपालिका वडा नम्बर ३ का एक जनामा संक्रमण पुष्टि भएको डा. चौरसियाले बताउनुभयो ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४, निजगढ नगरपालिका वडा नम्बर ९ र कलैया उपमहानगरपालिका वडा नम्बर ४ का एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै रौतहट चन्द्रपुर नगरपालिका वडा नम्बर ४ का एक जनामा संक्रमण भेटिएको डा. चौरसियाले जानकारी दिनुभयो ।
सङ्क्रमण पुष्टि भएकाहरु २ वर्ष बालकदेखि ७५ वर्ष उमेर समुहका रहेका छन् भने उनीहरुको सिटि भ्यालु १८ देखि ३३ सम्म रहेको डा.चौरसियाले बताउनुभयो । सङ्क्रमित हुनेमा दुई जना महिला रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्