चितवन मेडिकल कलेजमा तीन कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा एकैदिन तीनजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दुईजना चितवनका छन् भने एकजना नवलपुरका रहेका छन् ।
अस्पतालले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ४ का ६३ बर्षीय पुरुष रहेका छन् । श्वास प्रश्वासमा समस्या भई कात्तिक १२ गते भर्ना भएका उनको कात्तिक १३ गते कोरोना पुष्टि भएको थियो । मधुमेहको समेत समस्या भएका उनको उपचारको क्रममा आइतबार राती ९ बजेर १९ मिनेटमा मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिनुभयो ।
यस्तै अर्का मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ३ का ५३ बर्षीय पुरुष रहेका छन । कात्तिक १३ गेत कोभिड पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए । निमोनिया र मधुमेह लगायत रोगबाट ग्रसित उनको आइतबार राती ९ बजेर ४३ मिनेटमा मृत्यु भएको डा.अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी नवलपुर जिल्ला देवचुली नगरपालिका वडा नम्बर ११ का अर्का ८० बर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डाक्टर अधिकारीका अनुसार कात्तिक १३ गते अस्पताल भर्ना भएका उनको १४ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो । श्वास प्रश्वासको समस्या भएर अस्पतालमा भर्ना भएका उनको आइतबार राती ११ बजेर २६ मिनेटमा मृत्यु भएको अधिकारीले बताउनु भयो ।
तीनैजना कोरोना संक्रमितको अस्पतालको कोभिड आइसीयु कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । यसअघि आज बिहान मात्रै भरतपुर अस्पतालमा एकजना धादिङ्ग र एकजना चितवनका गरी दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्