सप्तरीमा मनाइयो पैगम्बरको जन्म जयन्ती
सप्तरी । सप्तरीमा इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १४९१ औं जन्म जयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर विविध कार्यक्रमको आयोजना गरी मुस्लिम समुदायले आफ्ना प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्म जयन्ती मनाएका हुन् ।
मोहम्मद डे मनाउन प्रदेश २ सरकारले शआज प्रदेशभरी सार्वजनिक विदा नै दिएपछि उत्साह झनै थपिएको मुसलिम संगठन नेपालका सप्तरी संयोजक महमद डोमनले बताउनुभयो ।
सप्तरी सदरमुकाम राजविराजमा नुरी जामे मस्जिद, अल्जामेतुल इश्लामिया गरिब नवाज, मदरसा इश्लामिया गरिब नवाज, इश्लामपुर पुरनी पोखरीलगायत मुस्लिम संघ संस्थाको अगुवाइमा बाजागाजा, झण्डा र सामाजिक सद्भाव तथा शान्तिको नाराका साथ बजार क्षेत्रमा र्याली निकालिएको थियो ।
र्यालीमा बालबालिका र यूवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सो क्रममा मौलाना मोहम्मद इमामले मुश्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदले दिएको ज्ञान र सन्देशको सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए ।
उहाँले हरेक धर्म, संस्कृति र भाषाको समृद्धि, संरक्षण र विकासका लागि प्रदेश २ सरकारले देखाएको सक्रियता प्रशंसनीय रहेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।
यसै अवसरमा जिल्लास्थित मस्जिदहरुमा प्रार्थनासभा तथा विपन्न समुदायमा लत्ताकपडा, फलफुल तथा खाद्यान्न समेत बितरण गरिएको मुश्लिम संगठन नेपालका सप्तरी संयोजक महमद डोमनले जानकारी दिनुभयो ।
इस्लामिक पात्रो अनुसार हिजरी सम्वतको रब्बी, अब्बल महिनामा विबि अमिनाको कोखबाट पैगम्बर हजरत मोहम्मदको जन्म भएको थियो ।
सोही दिन उहाँको सम्झनामा प्रत्येक वर्ष मुश्लिम समुदायले विविध कार्यक्रमको आयोजना गरी मोहम्मद डे मनाउने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्