रुपन्देहीको सियारीमा लालपुर्जा वितरण

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लकमा रहेका जग्गाको जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ । गाउँपालिकाको वडा नं ३ का २३ घर परिवारलाई लालपुर्जा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
पहिले नापी गर्दा छुट भएको जग्गालाई गाउँ ब्लक मानिँदै आएको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरूलाई गाउँपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा जग्गाधनी प्रमाणपत्र वितरण गरेको थियो ।
गाउँ ब्लकको समस्याका कारण पुस्तौँदेखि खनजोत र भोग चलन गर्दै आए पनि लालपुर्जा पाउन नसकेका स्थानीयलाई लालपुर्जा वितरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनुभयो । जनतालाई जग्गाको मालिक बनाउने प्रक्रिया सुरु भएको छ उहाँले भन्नुभयो –‘जनताका चाहना अनुसार विकासका काम भइरहेका छन् ।
विभिन्न वडाको गाउँ ब्लकमा रहेका लालपुर्जा वितरणको कामलाई आगामी दिनमा पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताउनुभयो । उक्त गाउँपालिकामा थप करिब ७ सय घरपरिवारलाई गाउँ ब्लकको पुर्जा वितरण गरिने प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्