किसानहरु ओखर खेतीतर्फ आकर्षित
काठमाडौं । नेपालमा प्रत्येक वर्ष ओखरको खपत बढ्दै गएपछि कर्णाली प्रदेशका जिल्लाका किसानहरु ओखर खेतीतर्फ आकर्षित भएका छन् ।
ओखर खेतीको प्रर्याप्त सञ्भावना हुँदाहुदै पनि उन्नत जातको विरुवा र खेती प्रणालीको विकास नहँुदा क्षेत्र विस्तार हुन नसकेको र किसानले लगाएको ओखरले पनि पर्याप्त उत्पादन दिन नसकेको ओखर किसान महानन्द चौलागाईले बताउनु भयो ।
गत आर्थिक वर्षमा कर्णालीको १ हजार १ सय ७ हेक्टरमा ओखर खेती गरिएको छ भने ३५० हेक्टर उत्पादनशील क्षेत्रबाट १ हजार ४ सय मेट्रिक टन ओखर उत्पादन भएको छ ।
कर्णालीको जूम्लामा मात्र करीब ९ हजार कृषकहरुले ओखर खेती गरेका छन । जुम्लामा जिल्लामा मात्र ओखर रोपेको क्षेत्रफल ९० हेक्टर रहेको छ भने प्रतिबोट औषतमा ३० केजी उत्पादन हुन्छ । यो वर्ष जुम्लामा २७० मे टन ओखरको उत्पादन भएको छ ।
उत्पादनको ३० प्रतिशत ओखर जिल्ला बाहिर निर्यात हुन्छ भने ७० प्रतिशत ओखर आन्तरिक खपत र जुम्ला बजारकै कोशेली घरहरुमा बिक्रीको लागि राख्ने गरिएको छ ।
गत वर्ष चण्डलर जातको ३ हजार ५ सय र अघिल्लो वर्ष २ हजार ओखरका बिरुवा टर्कीबाट आयात गरि कर्णालीमा रेपिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाका बरिष्ठ कृषि बिकास अधिकृत नवराज भण्डारीले जानकारी दिनु भयो ।
यो वर्षदेखि ओखरको तथ्याङ्क तयार पार्ने बिभिन्न ओखरका जातहरु छुट्टिने गरी ओखरका नर्सरी स्थापना गर्ने, गूणस्तरहीन बिरुवा उत्पादन गर्नेलाई निरुत्साहित गर्ने, हालसालै टर्कीबाट आयात गरिएको बिरुवाको गूणस्तरियता अध्ययन गर्ने, उक्त ओखर लगाएका कृषकहरुसंग अन्तरक्रिया गर्नेजस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले जनाएको छ ।
जुम्लामा ओखरले ओगटेको क्षेत्रफल स्याउले ओगटेको क्षेत्रफल भन्दा निकै कम रहेको छ ।
गुणस्तरिय कलमी बिरुवा उत्पादन प्रबिधि बिकास गरी ओखरको क्षेत्रफल बृद्धि गरेर उत्पादन बढाउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुम्लाले बागवानी अनुसन्धान केन्द्र, राजीकोटसंग समन्वय गरी स्थलगत अनुसन्धान तथा प्रबिधि बिस्तारको कार्य गरिरहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्