मुलुकको व्यापार घाटामा २४.९ प्रतिशतले कमी
काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा नेपालबाट हुने कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले निर्यात घटेको छ ।
भदौमा वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७७–७८ को दुई महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०७७–७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४.९ प्रतिशतले कमी आई १५८ अर्ब ४० करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३.१ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११.४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।
निर्याततर्पm वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ ।
आयाततर्पm नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।








प्रतिक्रिया राख्नुहोस्