तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाको मारमा कालिञ्चोकका होटल व्यवसायी

दोलखा- लामो समयको लकडाउन पछि फाट्ट फुट्ट पर्यटक पुग्न लागेको दोलखाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा शक्ति पिठहरु बन्द गर्ने सरकारको पछिल्लो निर्णयले फेरि शुन्यता छाएको छ ।

गत २०७६ चैत्र देखि कालिञ्चोक क्षेत्र सुनसान प्रायः भएपछि कुरी आसपास करोडौ लगानिमा बनेको सुविधा सम्पन्न होटलहरु आर्थिक सङ्कटमा परेका छन् । लक डाउन खुलेपछि दैनिक केहि पर्यटकहरु कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए । कालिञ्चोक मन्दिरको प्रवेशद्वार कुरीका सुविधा सम्पन्न होटलहरुमा थोरै चहलपहल सुरु भएको थियो ।

तर कार्तिक १ गतेदेखि बिभिन्न धार्मिक पठक मन्दिर र शक्तिपिठहरु बन्द गर्ने सरकारको निर्णयका कारण करौडौको लगानिमा निर्माण भएका कुरीका सुविधा सम्पन्न होटहरु सङ्कटमा परेको होटल मिराकलका सञ्चालक मोहन लुईटेल बताउछन् ।

आफुहरुले लक डाउन भन्दा केहि समय अघिमात्र पाँच करोड भन्दा बढी लगानी गरेर होटल सञ्चालन गरेको तर लगतै लक डाउनका कारण समस्या भएको मिराकलका सञ्चालक लुईटेलको गुनासो छ ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । कालिञ्चोक मन्दिर परिसरको जलकुण्ड नै यहाँको मुख्य विशेषता हो । किम्वदन्ति अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ ।

कालिञ्चोक मन्दिर परिसरमा हिमालय पर्वतकी पुत्री पार्वतीले तपस्या गरेको र महादेव पार्वतीको वासस्थान भएको जनविश्वास रहदै आएको छ । कालिञ्चोक क्षेत्रमा भेडागोठहरु रहेको र कालिञ्चोक मन्दिरमा सबै भेडाहरु जम्मा भएर बस्ने तथा ढुङ्गा चाट्ने गरेर जलकुण्ड देखिएको किम्वदन्ति समेत प्रचलनमा रहेको छ । कालिञ्चोकको दर्शन ग¥यो भने मागेको कुरा पुरा हुने, रोग व्याधि नलाग्ने, शत्रुको भय नहुने, धन सम्पत्तिमा बृद्धि हुने जनविश्वास समेत रहदै आएको छ ।

कालिञ्चोक मन्दिरमा हरेक हप्ताको शनिवार र मंगलवार तथा जनै पूर्णे, बडा दशै जस्ता चाँड पर्वहरुमा ठूलो संख्यामा धार्मिक पर्यटकहरु पुग्ने गर्छन । कार्तिक १ गते घटस्थापनाको दिन ठूलो संख्यामा पर्यटक पुग्ने अनुमान गरिएकोमा सोहि दिन देखि सरकारले मठ मन्दिर तथा शक्ति पिठहरु बन्द गर्ने निर्णय गरेकोले कुरीका होटल व्यवसायीहरु मर्कामा परेको एमपी होटल एण्ड गेष्ट हाउसका सञ्चालक राजकुमार पाख्रिन बताउछन् ।

गत बर्षहरुमा दशैको घटस्थापना देखि पुर्णेसम्म बिसौ हजार पर्यटक कालिञ्चोक मन्दिर पुग्ने गरेका थिए । यो पटक कोरोना महामारी भएपनि मन्दिर दर्शनमा रोक नलगाईएको भए दशैको अवधि भर पाँच सात हजार पर्यटक पुग्ने अनुमान गरिएको राजकुमार बताउछन् ।

सरकारले मठ मन्दिरमा प्रवेश गर्न रोक लगाएकै कारण घटस्थापनाको दिन कालिञ्चोक मन्दिरमा ढेड सय जतिमात्र पर्यटक पुगेको कालिञ्चोक त्रिपुरा सुन्दरी गुठी समितिका दिलबहादुर तमाङले बताए । सरकारको निर्णय बारे जानकारी नभएर मन्दिर पुगेका केहिले दर्शन समेत गर्न नपाएको दिलबहादुरले बताए ।

कोरोना र लक डाउनका कारण झण्डै चार पाँच महिना बन्द रहेको कालिञ्चोकका होटलहरुमा दशैको अवधिमा केहि पर्यटक आउछन् र थोरै भएपनि आर्थिक घाउमा मल्हम लाग्ने अनुमान गरिएको अवस्थामा मन्दिर बन्द गर्ने निर्णयले समस्या भएको राजकुमार गुनासो गर्छन । कालिञ्चोक मन्दिरसंगै त्यहा सञ्चालनमा रहेको केबुलकार समेत बन्द गरिएको छ ।

कालिञ्चोकको कुरीमा करोड भन्दा बढी लगानिको ४० भन्दा बढी सुविधा सम्पन्न होटलहरु रहेका छन् । कोरोना महामारी अघि हिमपातको समय र बिभिन्न चाँड पर्वहरुको अवधिमा कालिञ्चोक पुग्ने पर्यटकले कुरीका सबै होटलहरु भरीने गर्थे । कोरोना पछि पर्यटक आगमनले गतिलिन खोजेकै बेला फेरि मन्दिर प्रवेशमा रोक लगाईएकोले समस्या थपिएको सुनपाति होटलका सञ्चालक हरि ओली बताउछन् ।

कोरोना महामारीबाट सर्तक रहनु पर्ने अहिलेको आवश्यकता भएपनि चाँडबाडको बेला मन्दिरलाई पूर्णत बन्द गर्नु उपयुक्त नभएको कुरीका होटल व्यवसायीहरुको धारणा छ । भिडभाड नगरी पैदलनै गएर मन्दिर दर्शन गर्न चाहनेलाई कोरोना सर्तकता सहित मन्दिर खुला गर्नु पर्ने कुरीका होटल व्यवसायीहरुको माग छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button