राडर गनमार्फत सवारी साधनको गति निगरानी

रुपन्देही । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्गमा चल्ने सवारी साधनको गति नियन्त्रणलाई प्रभावकारी बनाउन राडर गनमार्फत सवारी साधनको गति निगरानी गर्न शुरु गरेको छ ।
तीव्र गतिमा गुड्ने सवारी साधनका कारण सडक दुर्घटना हुने गरेको भन्दै ट्राफिक प्रहरीले गति नियन्त्रण गर्ने अभियान शुरु गरेको हो । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक डम्बर बिकले साना सवारी मात्र होईन यात्रुवाहक र मालवाहक सवारी समेत तिव्र गतिमा चलाउंदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहांले सडकको क्षमता भन्दा तिव्र गतिमा चल्ने सवारीसाधनलाई निगरानी गरि कारवाही गरिने बताउनुभयो ।
ट्राफिक प्रहरीले गत आर्थिक वर्ष २०७६÷७७ मा लुम्बिनी प्रदेशमा भएका ५२ प्रतिशत सडक दुर्घटनामा तिव्र गतिका कारण भएको जनाएको छ । एकवर्षको अवधीमा लुम्बिनी प्रदेशमा भएका ११ सय २२ वटा सवारी दुर्घटनामध्ये ५ सय ७८ अर्थात् ५२ प्रतिशत सवारी दुर्घटना तीव्र गतिका कारण भएका छन् । यो संख्या अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को तुलनामा धेरै हो । अघिल्लो वर्ष १ हजार २९ वटा सवारी दुर्घटना हुंदा ४ सय २ अर्थात् ३९ प्रतिशत तिव्र गतिका कारण भएका थिए ।








प्रतिक्रिया राख्नुहोस्