तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी संगठनको विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयारः मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘प्रहरी मेरो साथी’ को नारालाई यथार्थमा रुपान्तरण गर्नका लागि नेपाल प्रहरी सुरक्षा अधिकारीहरुसंग आग्रह गर्नु भएको छ ।

मुख्यमन्त्री राउतले नेपाल प्रहरीको ६५ औं स्थापना दिवसको अवसरमा २ नम्बर प्रदेश प्रहरी कार्यालयद्वारा आज जनकपुरधाममा आयोजना गरिईएको कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

उहाले मुलुकको शान्ति सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले नेपाल प्रहरीलाई जनता सँगको सुमधुर सम्बन्ध कायम गर्न सकेको खण्डमा मात्र प्रहरी मेरो साथी भन्ने नारालाई यथार्थमा रुपान्तरण हुने बताउनु भयो ।

मुख्यमन्त्री राउतले सिमित स्रोत साधनका बीच जनताको जीउ धनको सुरक्षामा अहोरात्र खटिदै आएकोमा प्रहरीहरु प्रति धन्यवाद ज्ञापन गर्दैे अगामी दिनमा समेत प्रहरीहरुको भूमिका अझै प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले अपराधका प्रकृतिहरु फरक हुँदै गएको अवस्थामा अपराध नियन्त्रण गर्न प्रहरीलाई अत्याधुनिक स्रोत साधन सम्पन्न बनाउने तर्फ प्रदेश सरकार गम्भीर रहेको उल्लेख पनि गर्नु भयो ।

प्रदेश नंं २ का प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक धिरजप्रताप सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नंं २ को आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले प्रहरीको क्षमताको विकासका लागि सवै प्रकारको सहयोग गर्नका लागि तयार भएको बताउनु भयो ।

कार्यक्रममा राज्यमन्त्री सरोजकुमार सिंहले पनि प्रहरी दिवसको अवसरमा संगठनमा कार्यरत रहेका सवै प्रहरीमा शुभकामना दिनु भयो । कार्यक्रममा अमर तथा शहिद प्रहरीका परिवारजन, नेपाली प्रहरीलाई सहयोग गर्ने संघ संस्थाका प्रतिनिधिहरुलाई नगद, सम्मान पत्र तथा दोसल्ला ओढाएर मुख्यमन्त्री राउतले सम्मान गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button