देशका विभिन्न जिल्लाका पालिकाहरुको सेवा बन्द
काठमाडौं । देशका विभिन्न स्थानीय तहहरु समूदाय स्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि पालिकाका सेवाहरु बन्द गरिएको छ भने केहीलाई सिल गरिएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकाका जनप्रतिनिधिलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ ।
नगर प्रमुख धीरज शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि परीक्षणको नतिजा नआउँदासम्म नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताउनुभयो ।
यस्तै, नगरपालिकाले कोभिड –१९ को महामारीबीच सञ्चालनमा आएका विद्यालय तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
यसैगरी, स्याङ्जाको चापाकोट नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । एकैदिन १४ जनामा कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत जानकारी दिनुभएको छ ।
यस्तै, पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।
रामेछापको मन्थली नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि कार्यालय बन्द गरिएको छ । नगरपालिकाले यही असोज २८देखि कात्तिक २ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको नगर प्रमुख रमेशकुमार बस्नेतले बताउनुभयो ।
यस्तै, बैतडीको पाटन नगरपालिकाले नगरक्षेत्रभित्र समूदाय स्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि भोलीदेखि ५ दिन सम्मका लागि कार्यालय पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु कार्तिक १ देखि ३ दिनसम्मका लागी बन्द गर्ने निर्णय गरिएको नगरपािलकाले जनाएको छ ।
यसैगरी, बाँकेको कोहलपुर नगरपालिका आगामी कात्तिक ६ गतेसम्मका लागि शील गरिएको छ ।
नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको भन्दै नगरपालिकाको कार्यालय, १५ वटै वडा कार्यालय र विषयगत कार्यालयहरु शील गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्