तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै

काठमाडौं । पछिल्ला दिनमा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि विभिन्न जिल्लाका कतिपय कार्यालयका काम बन्द गरिएको छ भने अस्पतालका सेवा पनि बन्द गरिएको छ ।

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि भूमिसुधार तथा मालपोत कार्यालय कैलालीको आन्तरिक प्रशासनिक कामबाहेक अन्य सबै काम आगामी कात्तिक ३ गतेसम्म बन्द गरिएको कार्यालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

यस्तै, कर्मचारीमा कोरोना देखिएपछि कृषि विकास बैंक बैंकिङ कार्यालय धनगढी शाखा पनि बन्द गरिएको छ ।

यस्तै, उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।

अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताउनुभयो ।

यसैगरी, एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक बाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button